Back To Top

March 5, 2025

पूर्वाधार मन्त्रालयलाई बजेट बनाउन १६ बुँदे ‘लगाम’

Global Ime Bank

काठमाडौं । अर्थ मन्त्रालयले आर्थिक वर्ष २०८२/८३ को बजेट निर्माणका लागि मन्त्रालयगत छलफल सुरु गरेको छ । अर्थ मन्त्रालयले बुधबार भौतिक पूर्वाधार तथा यातायात मन्त्रालय र मातहतका विभाग तथा निकायसँग परामर्श गरेको छ ।

छलफलका क्रममा उपप्रधानमन्त्री एवं अर्थमन्त्री विष्णुप्रसाद पौडेलले आर्थिक वर्ष २०८२/८३ मा अनुशासित र यथार्थपरक बजेट ल्याउने बताएका छन् । यर्थाथपरक बजेट आउँदा बीच-बीचमा रकमान्तर र संशोधन गर्नु नपर्ने तथा कार्यान्वयनमा समस्या नआउने अर्थमन्त्रीको बुझाइ छ ।

उनले बजेटको सिद्धान्त, मूल्य र मान्यतालाई आत्मसात् गरी बजेट बनाउने र विगतको अनुभवबाट शिक्षा लिएर अघि बढ्ने प्रतिबद्धता जनाए । संघ, प्रदेश र स्थानीय सरकार रहेकाले संघीयता र संघ सरकारको भूमिकालाई विशेष ध्यान दिएर बजेट बनाउनेमा उनले जोड दिए ।

मन्त्रालयहरु र विभिन्न निकायबीचको समन्वयमा बजेट निर्माण हुने हुँदा बजेटप्रति सबैले अपनत्व लिने अर्थमन्त्रीको विश्वास छ । विपद्पछिको पुनर्निर्माणलाई प्राथमिकता दिनुपर्ने उनले स्पष्ट पारे । नीति तथा कार्यक्रम र बजेटबीच तादाम्यता मिलाएर आगामी आर्थिक वर्षको बजेट बनाउने उनले बताए ।

अर्थमन्त्री पौडेलले कार्यान्वयन हुन नसक्ने र कम प्राथमिकताका आयोजनालाई स्थगन गर्दै कार्यान्वयन योग्य योजनामात्र समावेश गर्न सम्बन्धित मन्त्रालयलाई आग्रह गरेका छन् । त्यसैगरी साना योजनाहरुलाई रोकेर क्रमागत योजनाको संख्या घटाउन पनि सुझाव दिए ।

पूर्वतयारी सम्पन्न भएका र अत्यन्तै आवश्यकता महसुस गरिएका आयोजनामात्र समावेश गर्नुपर्ने अर्थमन्त्रीले बताए । उनले बजेटको सिलिङलाई ध्यानमा राखेर कार्यक्रम प्रस्ताव गर्न पनि सुझाव दिए ।

छलफलमा भौतिक भौतिक पूर्वाधार तथा यातायातमन्त्री देवेन्द्र दाहाल, राष्ट्रिय योजना आयोगका उपाध्यक्ष प्रा. डा. शिवराज अधिकारी, अर्थसचिव घनश्याम उपाध्याय, राजस्व सचिव दिनेशकुमार घिमिरे, भौतिक पूर्वाधार तथा यातायात सचिव केशवकुमार शर्मालगायत सहभागी थिए ।

पूर्वाधार मन्त्रालयलाई अर्थमन्त्रीको आग्रह

१. प्राप्‍त बजेट सीमाभित्र रहेर कार्यान्वयनको क्रममा रकमान्तर र कार्यक्रम संशोधन गर्नु नपर्ने गरी यथार्थपरक बजेट प्रस्ताव गर्नु ।

२. स-साना आयोजनामा श्रोत छर्ने प्रवृत्तिलाई निरुत्साहित गर्नु ।

३. क्रमागत आयोजनाको संख्या घटाउनु ।

४. कार्यान्वयन हुन नसक्ने तथा कम प्राथमिकताका आयोजना स्थगन गर्नु ।

५. कार्यान्वयनयोग्य आयोजना मात्र प्रस्ताव गर्ने व्यवस्था मिलाउनु ।

६. नयाँ आयोजना तथा कार्यक्रम प्रस्ताव गर्दा पूर्व तयारी सम्पन्न आयोजनमात्र प्रस्ताव गर्नु ।

७. कार्यान्वयनयोग्य देखिएका गुणस्तरीय आयोजनामात्र समावेश गर्नु ।

८. क्रमागत आयोजनाका लागि आवश्यक बजेट विनियोजन गरिसकेपछि मात्र नयाँ कार्यक्रम तथा आयोजनाका लागि बजेट प्रस्ताव गर्नु ।

९. आयोजना प्रस्ताव गर्दा राष्ट्रिय योजना आयोगको आयोजना बैंकमा प्रविष्ट भएका आयोजनामा मात्र समावेश गर्नु ।

१०. चालु कार्यक्रम तथा आयोजनाहरुको हालसम्मको कार्यान्वयन अनुभवको आधारमा पुन:संरचना तथा एकीकृत गर्नुपर्ने भएमा त्यसअनुसार गर्नु ।

११. आयोजना प्रस्ताव गर्दा अन्तर तह तथा अन्तरनिकायमा दोहोरोपना नपर्ने सुनिश्चित गर्नु ।

१२. विपद्पछिको पुनर्निर्माण कार्यलाई प्राथमिकता दिई बजेट प्रस्ताव गर्नु ।

१३. सशर्त अनुदानका आयोजनाहरुलाई पुन: प्राथमिकीकरण गरी गुणस्तरीय आयोजनालाई मात्र निरन्तरता दिनु ।

१४. तयारी पूरा नभएका तथा लागानी विधि सुनिश्चित नभएका नयाँ आयोजना प्रस्ताव नगर्नु ।

१५. राष्ट्रिय गौरवका आयोजना तथा अन्य महत्वपूर्ण कार्यक्रममा सिर्जना हुने दायित्वलाई भुक्तानी गर्न पुग्ने गरी एअरमार्क भएको भन्दा कम नहुने गरी विनियोजन प्रस्ताव गर्नु ।

१६. राष्ट्रिय गौरवका आयोजनामा पछिल्ला दुई वर्षमा बजेट विनियोजन घटेको देखिएको हुँदा राष्ट्रिय योजना आयोगबाट आर्थिक वर्ष २०८२/८३ को आयोजना तथा कार्यक्रम प्रस्ताव गर्ने मार्गदर्शनमा गरिएको प्राथमिकीकरण र सुझावमा आधारित रहेर आवश्यक बजेट प्रस्ताव गर्नु ।

Prev Post

बाफिया संसोधन छिटो टुंग्याउन अर्थमन्त्रीको आग्रह

Next Post

संसदमा प्रश्न: कुलमानमाथि किन प्रतिशोध ?’

post-bars

Leave a Comment