विपी राजमार्गमा अझै दुई बर्खा दुःख

काठमाडौ ।
संघीय राजधानी काठमाडौंलाई पूर्वी नेपालसँग जोड्ने छोटो, एकमात्र वैकल्पिक र अत्यन्त महत्वपूर्ण सडकमार्गमा रहेको बिपी राजमार्गका सडकखण्ड अहिले थिलथिलो अवस्थामा पुगेको छ । उक्त राजमार्गको मध्यक्षेत्र भत्किएको र बगाएको तथा जोखिमपूर्ण अवस्थाबाट गुज्रिएको छ ।
वर्षायाममा केही भागमा क्षति पुर्याए पनि गत साल असोजमा भएको अबिरल वर्षामा काभ्रेको रोशी खोलामा आएको बाढीले राजमार्गका सडकखण्ड क्षतिग्रस्त बनाइदिएको छ । तर, सरकारी ढिलासुस्तीका कारण बाढीले भत्काएको आठ महिनासम्म पनि ११ किलोमिटर सडक बन्न सकेको छैन ।
२०७२ सालको विनासकारी भूकम्पले केही सडकखण्ड क्षतिग्रस्त बनाएको थियो भने केही सडकखण्ड जोखिमकै अवस्थामा थिए । देशकै उत्कृष्ट मानिएको यो राजमार्ग जापान सरकारको आर्थिक तथा प्राविधिक सहयोगमा धुलिखेल-सिन्धुली-बर्दिवास १६० किलोमिटर लामो सडक बनेको हो ।
करिब २६ अर्ब जापानी येन लागतमा खण्डखण्डमा निर्माण सम्पन्न यस राजमार्गले पूर्वी नेपाललाई राजधानीसँग सीधा जोड्को हो । यस राजमार्ग निर्माण सम्पन्न भएपछि पूर्व-पश्चिम राजमार्ग हुँदै नारायणघाट-मुग्लिन-काठमाडौं घुम्नुपर्ने झन्झट हटाइदिएको थियो ।
तर, भूकम्पले केही दूरीका सडक भत्काएको यस मार्गलाई बाढीले थप क्षतिग्रस्त बनाएको हो । राजमार्गअन्तर्गत यस क्षेत्रमा पुल नबनेका भ्याकुरे, घ्याम्पे र रोशी खोला बारम्बार समस्या बन्दै आइरहेका छन् । वर्षा भएका बेला यी खोलाबाट आउने खहरे र बाढीले हरेक दिनजसो बाटो बन्द हुने अवस्था निम्तिएको छ ।
नेपाल सरकारले क्षतिग्रस्त बिपी राजमार्गको पुनर्निर्माणका लागि काभ्रेपलाञ्चोक क्षेत्रमा तीन खण्ड र सिन्धुलीतर्फ एक खण्डमा काम हुने भएको सडक डिभिजन भक्तपुरले जनाएको हो । सरकारले क्षतिग्रस्त बिपी राजमार्ग पुनर्निर्माणको काम दुई वर्षभित्र सम्पन्न गर्ने लक्ष्य राखेको छ ।
कार्यालयका प्रमुख सिनियर डिभिजनल इन्जिनियर (सिडिई) सुमन योगेशले काभ्रेपलाञ्चोकतर्फ पुनर्निर्माण हुने सडकमध्ये डालाबेशीदेखि चारसयबेशीसम्मको साढे आठ किलोमिटर सडक पुनर्निर्माणका लागि निर्माण व्यवसायी कम्पनी छनोट भई सम्झौताको चरणमा रहेको बताए ।
गत सालको वर्षाले काभ्रेको भकुण्डेबेंसीदेखि सिन्धुलीको नेपालथोकसम्म करिब ३० किलोमिटर सडकमा बाढीले नराम्रो क्षति पुर्याएको हो । विशेषगरी नेपालथोक-आँपटार, कालढुंगा, डालाबेंसी, चिउरीबास, एक नम्बर पुललगायतका ठाउँमा सयौँ मिटर सडक बगाएको छ । त्यसबेला सानो खोलाले पनि डाइभर्सनसमेत बगाएको थियो ।
हाल बर्षायात्रम सुरु भैसकेकाले उक्त राजमार्गले कति ठूलो क्षति ब्यहोर्ला भन्नेमा अनुमान गर्न सकिएको छैन । काभ्रेतर्फको नार्केबजार, चौकीडाँडा, दाउन्ने, माम्ती खोला र बेंसीका सडकखण्ड पूर्णरुपमा बगाएको छ ।
गत सालको वर्षाले बगाएको सडकमा अस्थायी ट्रयाक खोलिएको भए पनि गत वैशाख अन्तिम साताको बाढीले फेरि डाइभर्सनलगायत अस्थायी सडक बगाएको छ । यस राजमार्गको क्षतिग्रस्त क्षेत्रको स्थायी पुनर्निर्माणका लागि आवश्यक प्रक्रिया अघि बढाइए पनि बर्खाको कारण काम अघि बढ्न सकेको छैन ।
