जोखीम हेरेर सडक बन्द गराउन आग्रह

काठमाडौं । शनिबार दिउँसोदेखि हुनसक्ने भारी वर्षाले प्रभावित क्षेत्रमा बाढीपहिरोको उच्च जोखिम रहने भन्दै जोखीमयुक्त क्षेत्रमा यातायातका साधन चलाउन रोक लगाउनुपर्ने सुझाइएको छ ।
सामान्य झरीका बेलामा पनि बाढी र पहिरोको जोखिममा रहेका क्षेत्रहरुमा नै भारी वर्षाको सम्भावना देखिएको भन्दै मौषमविद्धहरुले जनहितका लागि पूर्वतयारी स्वरुप राजमार्ग बन्द नै गर्नु उचित हुने सुझाव दिएका हुन् ।
भारतको उडिसा नजिकैबाट विकसित भएको प्रणाली बिहार हुँदै शनिबार बिहानदेखि नेपाल भित्रिने आंकलनसहित विज्ञहरुले नेपालमा केहि ठाउँमा भारी वर्षा र त्यसले बाढी पहिरो आउन सक्ने आँकलन गर्दै यस्तो सुझाव दिएका हुन् ।
भारतको मौसम विज्ञान विभागले आजदेखि नै बिहार क्षेत्रमा अति भारी वर्षाको जोखिम मानेर आवश्यक पूर्वतयारी तथा सतर्कताका लागि आह्वान गरिसकेको छ । यो प्रणाली वीरगञ्ज आसपासको क्षेत्र हुँदै शनिबार दिनभरमा नेपाल भित्रिने मौसमविद्हरु को अनुमान छ ।
शनिबारदेखि नै वीरगञ्ज आसपासदेखि जनकपुरसम्मको क्षेत्रमा भारी वर्षाको सम्भावना छ भने मधेशभर नै पानी पर्नेछ ।पश्चिममा बुटवल र भैरहवादेखि चितवन, काठमाडौं, मकवानपुर, हेटौंडाहुँदै पानी पार्ने प्रणालीले गोरखा र तनहुँसम्म प्रभावित पार्ने आँकलन छ ।
यो प्रणाली काभ्रे, रामेछाप, महोत्तरी लगायतका ठाउँमा शनिबार र आइतबारसम्म सक्रिय हुँदै पूर्वी नेपालबाट बाहिरिने आँकलन छ । सोमबारदेखि देशभरको मौसममा क्रमिक सुधार हुने मौसमविद्हरुको आँकलन छ ।
काठमाडौं भित्रिने मुख्य नाका नारायणगढ–मुग्लिन–नागढुंगा राजमार्गका विभिन्न ठाउँहरु यसै पनि पहिरोको जोखिममा छन् । त्यसैगरी हेटौंडाबाट काठमाडौं आउने सडक, बनेपा–बर्दिबास राजमार्ग अनि वरपरका जिल्लाबाट राजमार्ग छिर्ने सडकहरुलाई बन्द गर्नु उचित हुने उनीहरु बताउँछन् ।
