काठमाडौं ।
सरकारले आगामी आर्थिक वर्ष २०८२/०८३ मा गाडीको भन्सार दर बढाउने चर्चासँगै चोभारको सुक्खा बन्दरगाहमा कारको ताँती लागेको छ । व्यवसायीहरूले नयाँ गाडीको आयातमा धेरै नै तिब्रता दिएका छन् । जसले गर्दा भन्सारमा नयाँ गाडी आउने क्रम बढेको हो ।
नेपाल इन्टरमोडल यातायात विकास समितिका कार्यकारी निर्देशक आशिष गजुरेलका अनुसार चोभार सुक्खा बन्दरगाहमा करिब १०५२ वटा गाडी छन् । जसमा ५२ वटा गाडी इन्धन र बाँकी एक हजार गाडी विद्युतीय रहेको
गजुरेलले बताए ।
गाडी आउने क्रम बढ्दा चोभारको सुख्खा बन्दरगाहमा थप गाडी राख्ने ठाँउको अभाव भएको छ । वैशाख पहिलो सातायता गाडीको आयात ह्वात्तै बढेको हो ।
सरकारले गठन गरेको उच्चस्तरीय आर्थिक सुधार सुझाव आयोगले विद्युतीय सवारीसाधनमा हरित कर थप लगाउन सुझाव दिएको छ । त्यसैका आधारमा नयाँ गाडी आयात बढेको हो । नेपाल इन्टरमोडल यातायात विकास समितिले दैनिक १०० रुपैयाँका दरले भाडा लिएर पार्किङ गर्न दिँदै आएको छ ।