तल्लो अरुण प्रभावितलाई मुआब्जा वितरण

सङ्खुवासभा ।
सङ्खुवासभामा निर्माणाधीन ६६९ मेगावाट क्षमताको तल्लो अरुण जलविद्युत् आयोजनाका प्रभावितलाई मुआब्जा वितरण गरिएको छ ।
आयोजनाका प्रभावित क्षेत्रमा हालसम रु ९९ करोड ९८ लाख ३९ हजार मुआब्जा रकम वितरण भइसकेको जिल्ला प्रशासन कार्यालयले जनाएको छ । प्रभावित क्षेत्रका २५३ परिवारलाई उक्त रकम वितरण गरिसकिएको छ ।यो क्षेत्रमा रु पाँच लाखदेखि रु ३४ लाखसम्म जग्गाको मूल्याङ्कन गरिएको छ । तल्लो अरुण आयोजना निर्माणस्थल क्षेत्रमा पर्ने ६५६ जनाले मुआब्जा पाउने तय भएको छ ।
प्रभावितका लागि प्रशासनले रु एक अर्ब नौ करोड मुआब्जाबापतको रकम वितरण गर्ने जनाएको छ । उक्त रकम तल्लो अरुण जलविद्युत् आयोजना निर्माणका लागि जग्गा अधिग्रहणमा परेकाहरूले पाउनेछन् । “आयोजनाका लागि १८४ हेक्टर जग्गा आवश्यक पर्नेछ । जसमा निजी जग्गा ६५ दशमलव ९६ हेक्टर पर्दछ”, पौडेलले भने ।
अरुण तेस्रो निर्माण गरिरहेको भारतीय सतलज जलविद्युत् निगम लिमिटेडले तल्लो अरुणको पनि निर्माणको जिम्मा लिएको छ । मकालु गाउँपालिकामा निर्माण भइरहेको ९०० मेगावाटको अरुण तेस्रो जलविद्युत्को उत्पादनपछि खेर गएको पानीबाट खाँदबारी नगरपालिका–२ चेवाबेँसीमा करिब १७ दशमलव चार किलोमिटर सुरुङमार्गबाट पानी ल्याएर तल्लो अरुण निर्माण गर्न लागिएको आयोजना कार्यालयले जनाएको छ ।
आयोजनाबाट नेपालले २१ दशमलव नौ प्रतिशत (१९७.१ मेगावाट) विद्युत् निःशुल्क पाउने छभने बाँकी विद्युत् भारत निर्यात हुनेछ । लगानी बोर्ड र भारतीय कम्पनीबीच भएको आयोजना विकास सम्झौता (पिडिए) अनुसार निर्माण, स्वामित्व, सञ्चालन र हस्तान्तरण (बुट) ढाँचामा निर्माण हुने आयोजनाले व्यापारिक रूपमा विद्युत् उत्पादन गरेको २५ वर्षपछि सरकारले चालु अवस्थामा निःशुल्क पाउनेछ । आयोजनाको निर्माण अवधि पाँच वर्ष कायम गरिएको छ ।
