आन्तरिक अर्थतन्त्रमा पनि विस्तारै सुधार

काठमाडौं ।
वाह्य अर्थतन्त्रमा सन्तोषजनक सुधार र आन्तरिक अर्थतन्त्र शिथिल रहेको बुझाइका बीच राष्ट्रिय तथ्याङ्क कार्यालयले बुधबार सार्वजनिक गरेको चालु आवको राष्ट्रिय लेखा तथ्यांकले आन्तरिक अर्थतन्त्र सुधारको बाटोमा रहेको देखाउँछ । आर्थिक वृद्धिदर, प्रतिव्यक्ती आय तथा क्षेत्रगत प्रगतिका सूचकहरु सवै सकारात्मक नै देखिएका छन् ।
चालु आर्थिक वर्ष नेपालको अर्थतन्त्र ४.६१ प्रतिशतले विस्तार हुने भएको छ । चालु आवको राष्ट्रिय लेखा तथ्यांक सार्वजनिक गर्दै आर्थिक वृद्धिदर ४.६१ प्रतिशत रहने अनुमान थरेको हो ।
गत आव नेपालको आर्थिक वृद्धिदर ३.८७ प्रतिशत थियो । गत आवको परिमार्जित आर्थिक वृद्धिदर ०.२ प्रतिशत बिन्दु कम अर्थात् ३.६७% रहेको तथ्यांक कार्यालयले जनाएको छ । यो आर्थिक वृद्धिदर उपभोक्ता मूल्यमा हो ।
अर्थतन्त्रका १८ वटै क्षेत्रमा सुधार आउने
कार्यालयका अनुसार आवास तथा भोजन सेवा ५ प्रतिशत, सूचना तथा संचार ४.८१ प्रतिशत, मानव स्वास्थ्य तथा सामाजिक कार्यका क्रियाकलाप ४.७७ प्रतिशत, पेशागत वैज्ञानिक तथा प्राविधिक कृयाकलाप ३.९८ प्रतिशत, प्रशासनिक तथा सहयोगी सेवा ३.९७ प्रतिशत, अन्य सेवा ३.९२ प्रतिशत, उद्योग ३.७८ प्रतिशत, थोक तथा खुद्रा ब्यापार गाडी तथा मोटरसाइकल मर्मत सेवा ३.३ प्रतिशत, कृषि वन तथा मत्स्य ३.२८ प्रतिशत रहेको छ ।
यस्तै घर जग्गा कारोबार सेवा २.७२ प्रतिशत, सार्वजनिक प्रशासन तथा रक्षा अनिवार्य सामाजिक सुरक्षा २.२४ प्रतिशत, निर्माण २.२१ प्रतिशत, पानी आपुर्ति, ढल, फोहोर व्यवस्थापन २.०९ प्रतिशत, खानी तथा उत्खनन् १.९९ प्रतिशत र शिक्षा क्षेत्रको सुधार १.९८ प्रतिशत रहेको छ ।
प्रतिव्यक्ति राष्ट्रिय आय १ हजार ५१७ अमेरिकी डलर पुग्ने
चालु आवमा नेपालीको प्रतिव्यक्ति आय १ हजार ५१७ डलर पुग्ने उल्लेख छ । गत आवमा नेपालीको प्रतिव्यक्ति आय १ हजार ६६७ अमेरिकी डलर थियो ।
