वाग्मती गाउँपालिका प्रमुखसहित ६ जनाविरूद्ध वन मुद्दा

सर्लाहीको वाग्मती नगरपालिकाका निलम्बित प्रमुख भरत थापा र उपप्रमुख लीलाकुमारी मोक्तानसहित ६ जनाविरूद्ध वन मुद्दा दर्ता भएको छ ।
उनीहरूसहित तत्कालीन प्रमुख प्रशासकीय अधिकृत विमलकुमार पोखरेल, तत्कालीन लेखा अधिकृत विश्वराज पोखरेल, नगरपालिकाका इन्जिनियर सागर पौडेल र जिल्ला समन्वय समितिका तत्कालीन प्रमुख मेथुर चौधरीविरूद्ध जिल्ला अदालत सर्लाहीमा बिहीबार (११ वैशाखमा) मुद्दा दर्ता भएको हो ।
वन अतिक्रमण, ताल निर्माण, ढुंगा गिट्टी, बालुवा, माटो उत्खनन् गरेर प्राकृतिक स्रोत हानी नोक्सानी गरेको भन्दै उनीहरूविरूद्ध संघीय सरकारको वन तथा वातावरण मन्त्रालयले मुद्दा दायर गरेको हो ।
सागरनाथ वन विकास परियोजनाको जग्गा अतिक्रमण गरी वाग्मती नगरपालिकामा निर्माण गरिएको भरत ताल र त्यस आसपासमा भौतिक संरचना निर्माण भएपछि डिभिजन वन कार्यालय सर्लाहीले अनुसन्धान अगाडि बढाएको थियो । १ सय ७३ हेक्टर क्षेत्रफलमा ताल निर्माण भएको छ ।
त्यस वरपरका क्षेत्रमा बनाइएका संरचना, काटिएका रूख र यसक्रममा भएको हानी नोक्सानीमा मेयर थापा र अन्यको संलग्नता देखिएपछि अदालतमा मुद्दा दायर गरिएको हो । उनीहरूविरूद्ध ५ वर्षसम्म कैद वा १ लाख रूपैयाँसम्म जरिवाना वा दुवै सजाय गर्न मागदाबी गरिएको छ ।
२०७४मा वाग्मती नगर प्रमुख निर्वाचित भएपछि थापाले नगरसभा तथा कार्यपालिकाबाट निर्णय गराएर सागरनाथ वन परियोजनाको जग्गामा ताल निर्माण गराएका थिए । वन क्षेत्रमा निर्माण हुने ताल लगायतका संरचनामा परियोजना र वन कार्यालयको स्वीकृती लिइएको छैन ।
माछा पोखरी बनाउने भनेर सुरू गरिएको ताल पछि मेयर थापाको नामबाट ‘भरत ताल’ नामाकरण भएको थियो ।
ताल निर्माण गर्दा उत्खनन् भएका ढुंगा, गिट्टी, बालुवालगायत नदीजन्य पदार्थ बिक्रीमा अनियमितता भएको ठहर गर्दै अख्तियार दुरूपयोग अनुसन्धान आयोगले नगर प्रमुख थापासहित ६ जनाविरूद्ध भ्रष्टाचार मुद्दा दायर गरेपछि यो नगर प्रमुख र उपप्रमुख निलम्बनमा छन् ।
अख्तियारले गत वर्ष २९ जेठमा ६ जनाविरूद्ध विशेष अदालतमा मुद्दा दायर गरेको थियो । ताल निर्माण गर्दा उत्खनन् भएको ढुंगा, गिट्टी, बालुवा लगायत नदीजन्य पदार्थ बिक्रीमा ३० करोड रूपैयाँ भन्दा बढी आर्थिक हिनामिना भएको भन्दै आयोगले दायर गरेको मुद्दा विशेष अदालतमा विचाराधीन छ ।