पाल्पालाई पिराल्दै वन डढेलो, ७११ हेक्टर वन नष्ट

पाल्पा ।
लामो समयको खडेरीले पाल्पाका अधिकांश जंगलमा डढेलो लाग्न थालेको छ । हालसम्म ३६ सामुदायिक तथा सरकारी जंगलमा लागेको डढेलोले ७११ हेक्टर क्षेत्रफल नष्ट गरेको छ ।
अधिकांश वन क्षेत्रका नयाँ बिरुवा डढेर खरानी बनेका छन् । जंगलमा दिनदिनै बढेको डढेलोले दुई वर्षयताका नयाँ बिरुवा डढाएर खरानी बनाएको जिल्लास्थित डिभिजन वन कार्यालयले जनाएको छ । डढेलोले वयस्क र पुराना रुख पनि नष्ट गरेको कार्यालयका प्रमुख नारायणदेव भट्टराईले बताए ।
चैत लागेसँगै बढेको डढेलोले वन क्षेत्र उजाड बनेको छ । अहिले रुखबिरुवाले पालुवा फेर्न र झारेका पुराना पात सुकेकाले पनि वनमा लाग्ने डढेलोले आगो चाँडै फैलने गरेको उनले जनाए । क्षेत्रमा दिनदिनै बढेको डढेलोले रुखबिरुवा सखाप हुनुका साथै नजिकका बस्ती पनि आगलागीको जोखिममा परेकाले उच्च सतर्कता अपनाउन उनले सबैलाई आग्रह गरे ।
यसपाली हिउँदे वर्षा नभएकाले डढेलो झन् फैलिएको स्थानीय बताउँछन् ।
तिनाउ गाउँपालिका-३ झुम्साको खुलखुले सामुदायिक वन, झुम्साको वसन्तपुरनजिक ओढारखोला, सरागखोला, कचलको काम्लेटटरी, मसिना, सिद्धचुहार, तरुले सामुदायिक वन, झिँगामारा, रिङसिङ वन, तिनाउ गाउँपालिका-२ को सुकेताल र खुर्सानेनजिकैको जंगल, रम्भा गाउँपालिकाअन्तर्गत पर्ने रिमिघा डाँडा जंगल, रिब्दीकोट गाउँपालिकाको पालुङ सामुदायिक वनलगायत जंगलमा डढेलो लागिरहेको जिल्लास्थित डिभिजन वन कार्यालयले जनाएको छ ।
निस्दीको ज्यामिरे अरुणखोलास्थित जंगल, ज्यामिरेको वेभोके, बतासा, मठेखर्क, क्षेत्रीखर्क, माथागढीको रहवास, हात्तीलुङलगायत स्थानमा पनि डढेलो लागेको कार्यालयका प्रमुख भट्टराईले जानकारी दिए । उनका अनुसार स्थानीय बस्ती जोगाउन सफल भए पनि मानवीय क्षतिसहित जंगल, केही घरगोठ र भौतिक संरचनामा क्षति भएका छन् ।