Back To Top

December 3, 2024

क्रेडिट रेटिङ नतिजाबारे विकास साझेदारसँग छलफल

Global Ime Bank AD

उपप्रधानमन्त्री एवं अर्थमन्त्री विष्णुप्रसाद पौडेलले हालै सार्वजनिक क्रेडिट रेटिङ नतिजाले वाह्य लगानी बढाउने बताएका छन् ।

अर्थ मन्त्रालयमा सोमबार विकास साझेदाहरूसँगको छलफलमा अर्थमन्त्री पौडेलले क्रेडिट रेटिङ नतिजाले लगानीका लागि नेपाल अनुकूल अवस्थामा रहेको देखाएको भन्दै यसले निजी क्षेत्र र लगानीकर्ताको मनोबल बढाउनुका साथै वाह्य लगानी वृद्धि हुने विश्वास व्यक्त गरे ।

दुई ठूला राजनीतिक दल मिलेर सरकार बनेपछि मुलुकमा राजनीतिक र नीतिगत स्थायित्व कायम हुँदै गएकाले अब सरकारको ध्यान आर्थिक विकासमा केन्द्रित भएको उनको दाबी छ ।

अर्थमन्त्री पौडेलले विकास साझेदारहरूको निरन्तर सहयोग र साझेदारीमा आर्थिक विकासलाई अघि बढाउने बताए । प्रमुख आर्थिक सूचकमा सुधार हुँदै गएको, मुलुकको वाह्य क्षेत्र सन्तुलन र वित्तीय क्षेत्रको अवस्था अनुकूल अवस्थामा रहेको उनले बताए ।

चालु वर्षमा आर्थिक वृद्धिमा निरन्तर सुधार हुने अनुमान गरिएको भन्दै उनले सरकारले पूर्वाधार विकास, मानव संशाधन विकास र निजी क्षेत्रका लागि लगानीको राम्रो वातावरण सिर्जना गर्न जोड दिएको बताए ।

चालु खाताको सन्तुलन, विद्युत् निर्यातमा उत्साहजनक वृद्धि, विप्रेषणमा वृद्धि र पर्यटकहरूको बढ्दो आगमन संख्या लगायत कारण मुलुकको अर्थतन्त्र सुदृढीकरणमा योगदान पुग्दै गएको उनले बताए ।

सार्वजनिक ऋणको भारबाट तत्काल अत्तालिनु पर्ने अवस्था नरहेको उल्लेख गर्दै अर्थमन्त्री पौडेलले लामो समयसम्म दिगो बनाइराख्न ऋण परिचालनलाई पुनः प्राथमिकीकरण गर्नुपर्ने आवश्यकता महसुस गरेको बताए ।

नयाँ विकास सहायता परिचालन नीतिको मस्यौदा र सार्वजनिक क्षेत्रमा नवीन वित्त परिचालन सम्बन्धी नयाँ कानुन बनाउने प्रकृया अघि बढेको जानकारी दिँदै अर्थमन्त्री पौडेलले रचनात्मक सुझाव दिन विकास साझेदारहरूलाई अनुरोध गरे ।

सार्वजनिक वित्त व्यवस्थापन प्रणाली सुधारमा पनि सरकारले जोड दिएको उल्लेख गर्दै अर्थमन्त्री पौडेलले सार्वजनिक लगानीमा र हरित अर्थ व्यवस्था निर्माणमा लचिलो र एकीकृत दृष्टिकोण निर्माण गर्दै जलवायु न्यूनीकरण र अनुकूलन पहलहरूमा विकास साझेदारहरूसँग सहकार्य गर्न सरकार उत्सुक भएको जानकारी बताए ।

Global Ime Bank
Prev Post

नागरिक लगानी कोषको शाखा कार्यालयबाट समेत आवास र सरल कर्जा

Next Post

जल तथा उर्जा आयोगको  सचिवमा घिमिरे 

post-bars

Leave a Comment