महशुल तिर्न उद्योगीलाई फेरि १५ दिनको डेडलाइन

काठमाडौं ।
नेपाल विद्युत् प्राधिकरणले उद्योगीहरुलाई १५ दिनभित्र बिजुलीको बक्यौता तिर्ने गरि सुचना जारी गरेको छ । डेडिकेटेड र ट्रंकलाइनको प्रिमियम महशुल बक्यौता बुझाउन सरकारको निर्देशन अनुसार मसिंर १२ गते भित्र बुझाउन सूचित गरिएको छ ।
प्राधिकरणले मन्त्रिपरिषदको कात्तिक २५ गतेको बैठक र नेपाल विद्युत् प्राधिरण सञ्चालक समितिको कात्तिक २७ गतेको बैठकबाट बक्यौता महसुल १५ दिनभित्र असुलउपर गर्ने निर्णय भएको स्मरण गराउँदै बिहीबार गोरखापत्र दैनिकमा सार्वजनिक सूचना जारी गरेको हो ।
सूचनामा सोही अनुसार वितरण केन्द्रहरुबाट सम्बन्धित उद्योगको २०७२ माघदेखि २०७५ वैशाखसम्मको टीओडी मिटरमा रेकर्ड भएको डिमाण्ड तथा टी वान, टी टु र टी थ्री टाइम इन्टरभलमा रेकर्ड भएको खपत इनर्जीको आधारमा गणना गरिएको छुट बिल अनुसार बक्यौता बुझाउन प्राधिकरणले भनेको छ । सूचनामा यसअघि नै पठाइएको बिलका आधारमा भुक्तानी गर्न आउन भनिएको छ ।
मंसिर १२ गते भित्र बक्यौता महसुल नबुझाएमा नियमानुसार अघि बढ्ने चेतावनी प्राधिकरणले दिएको छ । प्राधिकरणले यस्तो सुचना अटेर गर्ने उद्योगहरुको विद्युत् आपूर्ति विच्छेद गर्दै आएको छ । सञ्चालक समितिको निर्देशन बमोजिम प्राधिकरणले बुधबार मात्रै २८ उद्योगहरुको लाइन जोडेको थियो । जुन गत कात्तिक ८मा काटिएको थियो ।