अनुदानका विद्युतीय चुलो ६२ प्रतिशतमात्रै प्रयोगमा
काठमाडौ:
विद्युतीय चुलो प्रवर्दनका निमित्त सरकार तथा विभिन्न दातृ निकायले उपलब्ध गराएका विद्युतीय चुलो उपभोक्ताले भने कम प्रयोग गरेको पाइएको छ । सरकारी पूर्ण अनुदान तथा गैर सरकारी संस्थाहरुको आँशिक अनुदानमा चुलो प्राप्त गरेपनि विभिन्न कारणले प्रयोग नगरको पाइएको हो ।
पिपुल इनर्जी एण्ड इन्भायरोमेन्ट डेभलपमेन्ट एसोसिएन(पीडा)ले गरेको एक अध्ययन अनुसार यसरी वितरित चुलो मध्ये ३७.५ प्रतिशतले उपयोग नगरेको पाइएको हो । यसरी प्रयोग नगरेकामा करिव ३ प्रतिशत भने मर्मत नहुने गरी विगे्रको पाइएको छ । वैकल्पिक ऊर्जा प्रवर्दनकेन्द्रले विभिन्न स्थानीय तहसँगको सहकार्यमा देशभर निशुल्क विद्यूतीय चुलो बाँडने गरेको छ ।
ललितपुरको महाँकाल गाउँपालिकामा गरिएको यो अध्ययनले मुख्य रुपमा विद्यूतीय चुलोमा मिल्दा जुल्दा भाँडा नहुनुलाई उल्लेख्य समस्या देखाएको छ । वहुवैकल्पिक प्रश्नावली सर्वेक्षणअनुसार संकलित तथ्याड्ले प्रयोग नहुनुमा ६६ प्रतिशतले यस्तो जवाफ दिएका छन् ।
त्यस्तै ३१ प्रतिशतले चलाउने सिप नभएकाले नचलाएको बताएका छन् । २२ प्रतिशतले घरमा वायरिड राम्रो नहुनुलाई पनि कारण भनेका छन् । १६ प्रतिशतले पहिलेदेखि प्रयोग गर्दै आएको ग्यास चुलो तथा आगोजस्ता विकल्प सजिलो हुने बताएका छन् ।
विद्यूतीय चुलो प्रवर्दनका निमित्त सरकारी तथा गैर सरकारी तवरमा हुने वितरणमुखी कार्यक्रम पूर्ण प्रभावकारी नभएको निश्कर्ष निश्किएको पिडाका प्रमुख कार्यकारी विराज गौतमले जानकारी दिनुभयो । “खाना पकाउन विद्यूतीय चुलो प्रवर्दन गर्न चुलो दिनेमात्र होइन एकिकृत प्रणाली नै विकास गर्नुपर्ने देखियो,” उनले भने, “खास गरी उपभोक्तालाई चुलो चलाउन जान्ने र विग्रदा नजिकै मर्मत गर्न सक्ने सुविधा पहुँचको आवश्यकता हामीले महशुस गरेको छौ ।”
आँशिक अनुदानमा दिइएका र पूर्ण निशुल्कमा दिइएकामा प्रभावकारिता हेर्दा आँशिक अनुदान तुलनात्मक रुपले बढी प्रभावकारी देखिएको छ ।
नि:शुल्क पाउँदा जो सुकैले पनि लिने तर केहि शुल्क लिँदा चाहिँ आवश्यक र उपयुक्त हुनेले मात्र पाउने भएकोले यस्तो भिन्नता आएको गौतमको भनाइ छ । अध्ययनले आशिक अनुदान १३ प्रतिशत बढी उपयोगी शिद्ध देखाएको छ ।
अध्ययनले ग्यास खपत न्यूनीकरणमा पनि यस्तै खाले अन्तर देखाएको छ । आँशिक अनुदान पाएका पहिले घर धुरीमा वार्षिक ४.६ वटा ग्यास सिलिण्डर खपत गर्ने गरेकामा यस्ता उपकरण पाएपछि यस्तो खपत करिव आधा घटेर २.७ वटा सिलिण्डर प्रतिवर्षमा झेरको छ । उता पूर्ण अनुदान पाएकाको भने ४.९बाट ४ वटा सिलिण्डरमा मात्रै झरेको छ ।
यो अध्ययनको नेतृत्व गरेकी पिडाकी अनुसन्धान अधिकृत एलिना डंगोलका अनुसार यो अध्ययनले विद्युतीय चुलो वितरण गर्नु पुर्व त्यस्को प्रयोग र उपयोगिता बारे पूर्व अध्ययन गरेर मात्र दिन सके थप प्रभावकारी हुन्छ । “यसबाहेक पनि विद्युतीय भान्साको प्रर्वदन गर्दा चुलो मात्र होइन पकाउने भाडाँ पनि केहि उपलब्ध गराउँदा उपयुक्त हुने देखियो,” उनले भनिन्, ।