दुई उद्योगले तिरे महशुल, जोडियो बिजुली
काठमाडौः
बुटवलका २ उद्योगले डेडिकेटेड र ट्रङ्क लाइन वापतको महशुलको किस्ता बुझाएका छन् ।
किस्ता तिरेपछि विद्युत् आपूर्ति सूचारु गरिएकोे नेपाल विद्युत् प्राधिकरणले जनाएको छ । महशुल तिर्नेमा बुटवल वितरण केन्द्र अन्तरगतका जिबी टेक्सटाइलका २ उद्योग रहेका छन् ।
ती उद्योगको क्रमश ३५ लाख ३७ हजार र १४ लाख १२ हजार रुपैयाँ थियो । पहिलो किस्ता वापत रकम भुक्तान गरेकाले सो उद्योगका लाईन जोडिएको छ ।
आइतबार सर्बोत्तम सिमेन्टले पनि किस्ता तिर्ने प्रस्ताव गरेको प्राधिकरण स्रोतले जनाएको छ ।
डेडिकेटेड र ट्रङलाईन महशुल नबुझाएको भन्दै नेपाल विद्यत् प्राधिकरणले ३४ उद्योगहरुको विद्युत् आपूर्ति बन्द गरिदिएको थियो ।
गत असोज २४ गते सार्वजनिक सूचना जारी गर्दै बाँकी बक्यौता भुक्तान गर्न कात्तिक ८ गते सम्मको समय सिमा दिएको थियो । सो समय सिमासम्म उद्योगले बक्यौता भुक्तान नगरेकाले प्राधिकरण विनियमावली अनुसार लाइन काटिएको थियो ।
महशुल भुक्तान बाँकी रहेका ४९ मध्ये ६ उद्योगले विहीबार नै बक्यौता वापतको महशुलको पहिलो किस्ता तिरेकाले उनीहरुको लाइन काटिएन । त्यस्तै ७ उद्योगहरुको मुद्धा अदालतमा विचाराधिन रहेकाले विद्युत् आपूर्ति काटिएन ।