योजना आयोगको बागडोर संहाल्न नयाँ टोली
काठमाडौ,
सत्ता परिवर्तन संगै नियुक्त भएका राष्टिय योजना आयोगका नवनियुक्त उपाध्यक्ष तथा सदस्यहरुले शुक्रवार सपथ ग्रहण तथा पदवाहली गरेका छन् । प्रधामन्त्री तथा मन्त्रिपरिष्द कार्यायलयमा नवनियुक्त उपाध्यक्ष डा सिवराज अधिकारीले प्रधानमन्त्री तथा आयोगका अध्यक्ष केपी ओली समक्ष पद तथा गोपनीयताको सपथ लिए । लगत्तै उपाध्यक्ष अधिकारी समक्ष अन्य सदस्यहरुले पनि पद तथा गोपनियताको सपथ लिए ।
सपथ पश्चात आयोग पदाधिकारीहरुलाई निर्देशन दिँदै प्रधानमन्त्री ओलीले देशको समग्र विकासको योजना कार्यान्वयनमा नमूनायोग्य बनाउँदै नयाँ उचाई हासिल गर्ने वातावरण बनाउने गरी काम गर्न आवश्यक रहेको बताए । मुलुकको आर्थिक अवस्था चुनौतिपूर्ण रहेका अवस्थामा १६ औं आवधिक योजना बनेको भन्दै प्रधानमन्त्री ओलीले प्राथमिकताका साथ कार्यान्वयन गरेर आर्थिक समृद्धि हासिल गर्ने दिशामा लाग्न पदाधिकारीहरुलाई निर्देश गरे । “समृद्ध नेपालका हाम्रा नीति, योजना र गन्तव्यलाई बहुपक्षीय योजनासँग तालमेल गरेर जानुपर्ने छ,” उनले भने, “ उत्पादन वृद्धि र मानवीय एवं भौतिक विकासलाई एकैसाथ अगाडि लैजाने गरी समन्वयात्मकरूपमा काम गर्नुहोला ।” प्रधानमन्त्री ओलीले विकास योजनाका नविनतम अनुसन्धान पद्धति अनुशरण तथा आत्मसाथ गर्दै अनुसन्धान गर्ने योजना बनाउने र सोही अनुसार वर्तमान अर्थतन्त्रलाई अझै गतिशिल बनाउनु पर्ने पनि औल्याए ।
विहिबार बसेको मन्त्री परिषद् बैठकले डा. अधिकारी र ६ जना सदस्यहरु नियुक्त गरेको थियो । शुक्रबार सदस्यहरु आरपी विच्छा, प्रकाश श्रेष्ठ, जयबहादुर टण्डन, रमेशप्रसाद शिंह गिताकुमारी पौडेल अधिकारीले उपाध्यक्ष अधिकारी समक्ष पद तथा गोपनियताको सपथ ग्रहण गरी पदबाहली गरेका हुन । एक जना सदस्य भने उपत्यका बाहिर रहेकाले सपथ भएको छैन ।
पदबहाली पश्चात उपाध्यक्ष अधिकारीले ४ मुख्य प्राथमिकता तोकेर काम गर्ने योजना सुनाए । कतिपय अवस्थामा योजना आयोगको काम र भूमिकामै प्रश्न उठाउने गरिएकामा अब आयोगले स्पस्ट र निर्दिष्ट ढँगबाट कानुन ले दिएका जिम्मेवारी पुरा गर्नेछ । परियोजना कार्यान्वयन र पुँजीगत खर्च प्रभावकारी बनाउने गरी काम पनि उनको प्राथमकताको विषय हो । १६औ योजनाको प्रभावकारी कार्यान्वयन र त्यसबाट परिणामको सृजना पनि उनले प्राथमिकतामा राखेका छन । परियोजना बैंकको अवधारणामा अझै धेरै काम गर्नुपर्ने देखिएको उनको भनाइ छ ।