Back To Top

October 6, 2025

वर्षाले ३२ जलविद्युत आयोजना प्रभावित

Global Ime Bank AD

असोज १७ देखि १९ गतेसम्मको भारी वर्षाले तीन प्रदेशका १० जिल्लामा रहेका ३२ जलविद्युत आयोजना प्रभावित भएका छन् ।

स्वतन्त्र ऊर्जा उत्पादकहरूको संस्था नेपाल (इप्पान)ले संकलन गरेको सोमवार दिउँसोसम्मको प्रारम्भिक तथ्यांकअनुसार सञ्चालनमा रहेका १८० मेगावाट क्षमताका १७ र निर्माणाधीन ३३८ मेगावाट क्षमताका १५ आयोजना बाढीले प्रभावित पारेका हुन् ।

इप्पानका अध्यक्ष गणेश कार्कीका अनुसार विगतका वर्षमा बाढीको पूर्वसूचना अभावमा मानवीय क्षति समेत भएको थियो । तर यस वर्ष इप्पान र जल तथा मौसम विज्ञान विभागबीच बाढीको पूर्वसूचना आदान–प्रदान गर्ने सम्झौतापछि समयमै सूचना प्रवाह हुन सकेको र मानवीय क्षति रोक्न सफल भएको बताए । कार्कीले आवश्यक पूर्वतयारीका कारण भौतिक क्षति पनि तुलनात्मक रूपमा कम भएको जानकारी दिए ।

सञ्चालनमा रहेका आयोजना

सञ्चालनमा रहेका १७ मध्ये १५ आयोजना कोशी प्रदेशको इलाम जिल्लामा रहेका छन् । ती सबै आयोजनाको उत्पादन बन्द भएको छ । इलाममा मात्रै ४.५ मेगावाटको माईखोला, ८ मेगावाटको माईखोला क्यासकेड, २२ मेगावाटको माईखोला (सानिमा माई), ७ मेगावाटको माई क्यासकेड, ७.८ मेगावाटको सुपरमाई, ९.६ मेगावाटको सुपरमाई ए, ३ मेगावाटको सुपरमाई ए क्यासकेड, ७.६ मेगावाटको जोगमाई खोला, ५.२ मेगावाटको जोगमाई क्यासकेड, ६.२ मेगावाटको तल्लो जोगमाई, ९.५ मेगावाटको माईबेनी, ९.९ मेगावाटको माथिल्लो माई, ५.१ मेगावाटको माई सी क्यासकेड, ४.९६ मेगावाटको पुवा २ र ३ मेगावाटको अपर पुवा १ आयोजना छन् ।

बाँकी दुई आयोजनामध्ये पाँचथरको १४.९ मेगावाटको हेवाखोला र बागमती प्रदेशको ५२.४ मेगावाटको लिखु ४ आयोजनामा समस्या आएको छ । लिखु ४ एक घण्टाभन्दा केही बढी समय मात्रै बन्द भए पनि अन्य सबै आयोजनाको उत्पादन रोकिएको छ ।

 

निर्माणाधीन आयोजना

निर्माणाधीन आयोजनामा सबैभन्दा बढी क्षति पहुँचमार्गमा पुगेको छ । मनाङको ४९.९५ मेगावाट दाना खोला आयोजनाले बनाएको १२ किलोमिटर सडकको धेरै भाग पहिरोले बगाएको छ ।

इलामको १० मेगावाटको सिद्धिखोला आयोजनाको उत्पादन तयारीलाई बाढीले पछि सारेको छ । पाँचथरको २१.५ मेगावाटको सभाखोला बी र ९.९ मेगावाटको हेवाखोला आयोजनाको सामग्री तथा उपकरण बगाएको छ ।

सिन्धुपाल्चोकमा रहेका ३६.५१ मेगावाटको ब्रम्हायणी, १५.१५ मेगावाटको माथिल्लो ब्रम्हायणी, ४० मेगावाटको बलेफी र २२.५ मेगावाटको तल्लो बलेफी आयोजनाको पहुँचमार्ग समेत बाढीले बगाएको छ । त्यस्तै, रसुवाको २० मेगावाट लाङटाङ खोला, भोजपुरको १५.५ मेगावाट इर्खुवा खोला बी र १४.५ मेगावाट माथिल्लो इर्खुवा, म्याग्दीको २२.५ मेगावाट माथिल्लो ठूलो खोला, लमजुङको ६.८२ मेगावाट हिडी खोला, रामेछापको ४८.८ मेगावाट खिम्ति २ र धादिङको ४.५ मेगावाट गसाली खोला आयोजना पनि क्षतिग्रस्त भएका छन् ।

इप्पानका अनुसार संचालन तथा निर्माणाधीन आयोजनासम्म पुग्ने मार्ग अवरुद्ध भएकाले क्षतिको विस्तृत विवरण आउन अझै केही समय लाग्नेछ ।

यी हुन् उत्पादन नै बन्द भएका जलविद्युत् आयोजनाहरु :

यी हुन् बाढीका कारण उत्पादन ढिलाे हुने निर्माणाधीन जलविद्युत् आयोजनाहरु

Global Ime Bank
Prev Post

२० जलविद्युत् आयोजनामा क्षति

Next Post

काभ्रेमा विद्युत् लाइन मर्मत जारी

post-bars

Leave a Comment