वीरगञ्जमा हैजा समुदायस्तरमा, स्वास्थकर्मीमाथि कडाइ

वीरगञ्ज ।
गत शुक्रबारदेखि देखा परेको हैजा संक्रमण वीरगञ्ज महानगर क्षेत्रमा समुदायस्तरमा नै फैलिएको छ ।स्वास्थ्य कार्यालय पर्साका जनस्वास्थ्य अधिकृत जयमोद ठाकुरका अनुसार हालसम्म वीरगञ्जमा ७९ जना हैजाका सङ्क्रमित बिरामी फेला पारेका छन् । उनका अनुसार सोमबार बिहानसम्म थप ८ जना हैजाका सङ्क्रमित भेट्टिएका हुन् ।’
विश्व स्वास्थ्य सङ्गठनलगायतका प्रतिनिधिले आइतबारदेखि यहाँका पानीको परीक्षणलगायतका विभिन्न परीक्षण गरिरहेको बताइएको छ ।
नारायणी अस्पताल वीरगञ्जका प्रवक्ता डा उदयनारायण सिंहले आइतबारसम्म अस्पतालमा ३० जना बिरामी भर्ना भएको जानकारी दिए ।
प्रवक्ता सिंहले वीरगञ्जमा विश्व स्वास्थ्य सङ्गठनका प्रतिनिधि आएर पानीको परीक्षणलगायतका आवश्यक काम गरिरहेकाले पनि सम्भवत् आजै हैजाको स्रोतको प्रारम्भिक रिपोर्ट आउन सक्ने जानकारी दिए । नारायणी अस्पतालमा जाँच गर्दा २६ जना बिरामीमा कलेरा सङ्क्रमित देखिएका छन् । त्यस्तै तराई अस्पतालमा २५ जना, नेशनल मेडिकल कलेजमा नौ जना, भवानी अस्पतालमा तीन जना सङ्क्रमित बिरामी भेट्टिएका हुन् ।
यसैबीच, पर्साको जिल्ला स्वास्थ्य संकट व्यवस्थापन समितिले महामारीको समयमा स्वास्थ्य जनशक्ति अभाव हुन नदिन स्वास्थ्यकर्मीलाई अत्यावश्यक बाहेकका बिदा स्वीकृत नगर्ने निर्णय गरेको छ ।
निमित्त प्रमुख जिल्ला अधिकारी सुमनकुमार कार्कीको अध्यक्षतामा आइतबार बसेको बैठकले वीरगञ्जमा झाडापखाला र हैजाको सङ्क्रमण देखिएपछि आवश्यक पर्ने स्थानीय तहका स्वास्थ्यकर्मीलाई केन्द्रिकृत रूपमा तोकिएको स्वास्थ्य संस्थामा खटाउन सकिने निर्णय गरेको हो ।
बैठकमा मधेस प्रदेश सरकारका स्वास्थ्य तथा जनसङ्ख्यामन्त्री सत्रुधन प्रसादसिंहको पनि उपस्थिति थियो । निमित्त प्रमु जिल्ला अधिकारी कार्कीले झाडा पखाला, कोलेरा ९हैजा० रोकथामका लागि सबै निकायसँगको समन्वयमा आवश्यक सामग्री व्यवस्थापन गरी माइकिङ, घरदैलो एवम् सचेतना जागरण तत्कालै सञ्चालन गर्ने निर्णय गरिएको बताए ।
बैठकले सङ्घीय सरकार र प्रदेश सरकारबाट प्राप्त थप जनशक्ति तथा स्रोत साधनको ‘पुल’ खडा गरी जिल्ला स्वास्थ्य संकट व्यवस्थापन समितिमार्फत वितरण, व्यवस्थापन एवं अनुगमन गर्ने निर्णय गरेको छ ।
