भारतले नेपालको नौ सय ४१ मेगावाट बिजुली किन्ने
काठमाडौं
भारतले नेपालबाट थप १२ वटा जलविद्युत् आयोजनाको २५१ मेगावाट विद्युत् खरिद गर्ने भएको छ । नेपालस्थित भारतीय दुताबासले सोमबार जारी गरेको विज्ञप्ती अनुसार नेपालले पहिलो पटक बिहारमा मध्यकालीन विद्युत निर्यात गर्नसमेत पाउने भएको छ ।
यसअघि नेपालले १६ वटा परियोजनाबाट इण्डियन इनर्जी एक्सचेन्जमा ६९० मेगावाट विद्युत् निर्यातको अनुमति पाएको थियो । मध्यकालीन पीपीएसहित अब नेपालले २८ परियोजनाबाट ९४१ मेगावाटसम्म विद्युत् निर्यात गर्न पाउने भएको छ । यो सुविधाले यो वर्षायाममा ठूलो परिमाणमा विद्युत् खेर जाने अवस्था घटेको छ भने गत वर्ष देखि खुद निर्यातक बनेको नेपालले आप्mनो विद्युत् निर्यातको आयसमेत व्यापक विस्तार गर्न पाउने भएको छ ।
सन् २०२१ अक्टोबरमा भारतले पहिलो पटक नेपालबाट भारततर्फ ३९ मेगावाट विद्युत निर्यातका लागि अनुमति दिएको थियो ।
पहिले इन्डियन इनर्जी एक्सचेन्ज(आइइएक्स) को डे अहेड मार्केटमा बिक्री मात्र अनुमति दिएकामा अहिले रियलटाइम मार्केटमा पनि नेपालको बिजुलीले प्रवेश भएको छ ।
भारतले भारतका खरिदकर्ताहरुका लागि जलविद्युत खरिद दायित्व (एचपीओ) को एक हिस्साको रुपमा नेपालबाट हुने जलविद्युत आयात गणना गर्ने प्रावधान पनि खोलेको छ, जसले खरिदकर्ताहरुलाई नेपालबाट विद्युत खरिद गर्न प्रोत्साहित गर्दछ ।
नेपाल र भारतबीचको दीर्घकालीन ऊर्जा सम्झौताले आगामी १० वर्षमा नेपालबाट भारतलाई १० हजार मेगावाटसम्म विद्युत् बिक्री गर्ने परिकल्पना गरेको छ । पुष्पकमल दाहाल प्रधानमन्त्री भएका बेला भएको यससम्बन्धी सम्झौताको पहिलो वर्ष मै करिव एक हजार मेगावाट निर्यात हुने अवस्था आएको छ ।बँगलादेशमा ४० मेगावाट विद्युत् निर्यात पनि यहि सिजनमा गर्ने तयारी भएकामा त्यहाँको राजनीतिक परिवर्तन तथा उतारचढावले समस्या परिरहेको छ ।