बस खाने पहिरो, नयाँ ठाँउमा जोखीम
काठमाडौं, ३० असार
देशलार्ई राजधानी काठमाडौंसँग जोड्ने नारायणगढ–मुग्लिन सडकखण्डमा पहिरोका कारण एकै रातमा दुई बटा बस त्रिशुलीमा डुबे । ती दुई बस र यात्रुको अवस्था हालसम्म पत्तो लागेको छैन । जल तथा मौषम विभागले त्यो रात धेरै क्षेत्रलाई वर्षा र जोखीमका हिसावमा रेड जोडमै राखेको थियो । हरेक वर्ष करोडौ रकम खर्चेर ममर्त पनि भइरहेको सोही बाटले वर्सेनि ज्यान लिएकै छ तर त्यो रोक्ने वा निराकरण गर्न भने सरकार असफल नै भएको देखिन्छ । तथ्याङ्क अनुसार पछिल्ला ६ वर्षमा पहिरो र दुर्घटनाबाट यो खण्डमा ११७ ले ज्यान गुमाएका छन । असारको २९ दिनमा मात्रै १४ ठाउँमा पहिरो खसेर ४५ घण्टा सडक अवरुद्ध भएको छ ।
काठमाडौँबाट गौरतर्फ गइरहेको बागमती प्रदेश०३–००१ख २४९५ नम्बरको बस र वीरगन्जबाट काठमाडौँतर्फ गइरहेको बागमती प्रदेश०३–००६ख १५१६ नम्बरको बस भरतपुर महानगरपालिका–२९ सिमलतालमा पहिरो खस्दा शनिबार बिहान दुवै बस त्रिशूलीमा बगेका थिए । गौरतर्फ गइरहेको बसमा ३८ जना र काठमाडौँतर्फ गइरहेको बसमा सवार २७ जना बेपत्ता भएका थिए ।
सडक र सवारीको सुरक्षाको अवस्थाबारे यो विपदले चुनौति स्पस्ट देखाएको छ की अर्वौ खर्चिएर बनाइएको भनिएको यो सडक सुरक्षित छैन र त्यतिमात्र होइन विपद जोखीम र पूर्वतयारीबारे हुने बहसलाई पनि यसले गिज्याइरहेको छ भने विपत पछाडीको उद्दारमा पनि यसले नेपालको कमजोर क्षमता प्रदर्शन गरिरहेको महशुस पीडितहरुले गरिरहेको छन् ।
सडक डिभिजन भरतपुरका प्रमुख रमेशप्रसाद पौडेल भन्छन्– जोखिमयुक्त २४ किमिमै पहिरो नियन्त्रण गर्न १0 अर्ब चाहिन्छ । पाँच अर्ब १३ करोड खर्चिएर दुई लेनमा स्तरोन्नति गरिएको मुग्लिन–नारायणगढ सडक सधैँ धराप नै छ । यसक्रममा ५० करोड रुपैयाँ पहिरोको जोखिम घटाउनमा भएको छ । ३१ ठाउँमा पहिरोको जोखिम पहिचान गरेर रोकथामका लागि काम गर्दा उक्त खर्च भएको सडक डिभिजन कार्यालय, भरतपुरले जनाएको छ । तर, दुर्घटना र मानवीय क्षति न्यूनीकरण भएको छैन ।
सडक डिभिजन कार्यालय भरतपुरकाअनुसार यो सडकखण्डमा विज्ञको टोलीले उच्च जोखिम देखाएको ठाउँ सुरक्षित रहेको र नयाँ स्थानमा पहिरो खसेपछि अनुसन्धान थालिएको छ । यस सडकखण्डको चार ठाउँलाई विज्ञको टोलीले पहिरो जाने उच्च जोखिममा राखेको थियो । अहिले गएको सिमलतालको पहिरो अनुमान गरेकोभन्दा फरक र जोखिम नभएको स्थानमा ठुलो पहिरो गएपछि थप अनुसन्धान अगाडि बढाइएको छ । तुइनखोला, कालीखोला, मौरी पुल र नाम्सी पुल पहिरो जाने उच्च जोखिमका ठाउँ हुन । तर यो घटनाले नयाँ ठाउँमा पहिरो जाने जोखिम बढेको देखिन्छ ।
किन जोखीम
“सिमलतालको पहाड ठुलो पहिरो जाने स्थान होइन,” डिभिजन सडक कार्यालयका सूचना अधिकारी चन्देश्वर साह भन्छन्, “ ग्रामीण क्षेत्रमा अध्ययन नगरी सडक निर्माण गरेकाले त्यहाँबाट तल पहिरो खसेको हुन सक्छ ।” पहाड भत्केको छैन, माथिबाट पहिरो आएको छ । तलको मुख्य राजमार्गभन्दा माथि ग्रामीण क्षेत्रमा सडक निर्माण गर्दा मापदण्ड अपनाएर तल असर नपर्ने गरी निर्माण गरिनुपर्ने उनको भनाइ छ । दुई वर्षअघि पनि मुग्लिङ–मलेखु सडकको घोप्टेभिरस्थित ग्रामीण बस्तीमा सडक निर्माण गरेका कारण तल पहिरो झरेको थियो । गाउँमा जाने भन्दै बिनाअध्ययन पहाडको टापुमा सडक निर्माण गर्दा त्यहाँबाट वर्षामा पहिरो झरी समस्या आउने गरेको कार्यालयले जनाएको छ । चितवनको नारायणगढ–मुग्लिङ र मुग्लिङ–मलेखु सडकखण्डको माथिल्लो क्षेत्रमा ग्रामीण सडक निर्माण तीव्र रूपमा भइरहेको छ ।
नागढुङ्गा–मुग्लिङ सडक योजना (पश्चिम खण्ड) का सूचना अधिकारी इन्जिनियर कृष्ण आचार्यले कुन स्थान पहिरोका लागि उच्च जोखिमयुक्त भन्ने जान्न विस्तृत अध्ययन भइरहेको बताए ।
प्रहरी नायब उपरीक्षक (डिएसपी) एवम् सह प्रवक्ता शैलेन्द्र थापाले बेपत्ताहरूको खोजी तथा उद्धारका लागि एक सय ४९ जनाको सुरक्षा फौज परिचालन गरिएको जानकारी दिए । पहिरोले बगाएर त्रिशूलीमा बेपत्ता भएका दुईवटा बसका यात्रुमध्ये पाँच जनाको शव फेला परेको छ । भेटिएका शवमध्ये तीन जनाको परिचय खुलेको छ ।
तर बस तथा अन्य बेपत्ता नागरिक फेला नपर्दा प्रगति लगभग शून्य प्राय मानिएको छ । पीडित आफन्तहरुमा आक्रोश र उद्दार तथा खोजिमा अझै कमि भयो भन्ने आरोप लागिरहेको छ ।