Back To Top

July 19, 2024

निर्माण व्यवसायीको भुक्तानी अव रोकिँदैनः अर्थमन्त्री पौडेल

Global Ime Bank

काठमाडौं, ४ साउन
उपप्रधान तथा अर्थमन्त्री विष्णुप्रसाद पौडेलले विभिन्न सरकारी निकायबाट निर्माण व्यवसायीलाई भुक्तानी हुनुपर्ने रकम यकिन भइरहेको र चाँडै भुक्तानी प्रक्रिया अघि बढ्ने बताएका छन् ।

नेपाल निर्माण व्यवसायी महासङ्घका पदाधिकारीसँग आज भएको भेटघाटमा अर्थमन्त्री पौडेलले यस्तो प्रतिवद्धता जनाएका हुन् । उनले दायित्व सिर्जना भइसकेको रकम भुक्तानी नरोकिने स्पष्टसमेत पारे । ‘काम सम्पन्न भइसकेका आयोजनाको भुक्तानी नरोक्न विभिन्न मन्त्रालयलाई भनिसकेको छ । समस्या आइसकेपछि यत्तिकै राख्ने होइन, समाधान गर्दै जाने हो । दुवै पक्ष छलफल गरेर निकास खोज्नतर्फ लागौँ,’ अर्थमन्त्री पौडेलले भने ।

सम्पन्न भएको कामको भुक्तानी नरोक्न विषयगत मन्त्रालयका सचिवलाई निर्देशन दिइसकेको जानकारी पनि उनले दिए । मन्त्री पौडलले पूर्वाधार निर्माणको गुणस्तर कायम गर्दै तोकिएको समय र लागतभित्र काम सम्पन्न गर्न पनि निर्माण व्यवसायीलाई आग्रह गरे । महासङ्घका पदाधिकारीसंग छलफल गर्नुअघि अर्थमन्त्री पौडेलले विभिन्न विषयगत मन्त्रालयका सचिवसँगसमेत छलफल गरेका थिए ।

‘तपाईहरुका जायज समस्या सुन्न र समाधान गर्न सरकार तयार छ । तपाईहरु पनि तोकिएको समय र लागतभित्र काम सक्नुस । कामको गुणस्तर कायम गर्ने विषयलाई पहिलो प्राथमिकतामा राख्नुहोला,’ अर्थमन्त्री पौडेलले भने । निर्माण व्यवसायीले प्रदेश र स्थानीय तहसमेतबाट गरेर करिब ६० अर्ब रुपैयाँ भुक्तानी पाउन बाँकी रहेको दावी गर्दै आएका छन् ।

Prev Post

ग्लोबल आइएमई बैंकको ग्राहक ५० लाख पुग्यो

Next Post

कर्जाको पुनर्तालिकीकरण भए धरासायी उद्योग बचाउन सकिन्छः चेम्बर

post-bars

Leave a Comment