नागढुंगा–नौबिसे सडक सवारी रोकेर मर्मत

काठमाडौं ।
नागढुंगा–नौबिसे सडक आजदेखि सडकमा सवारी आवागमन रोकेर मर्मत थालिएको छ ।
नारायणगढ-मुग्लिन सडक योजना (पूर्वी खण्ड)ले आजदेखि जेठ २५ गतेसम्म बिहान १०ः३० बजेदेखि अपाह्न ३ बजेसम्म उक्त सडक बन्द गरेर काम थालेको जनाएको छ ।
काठमाडौंका प्रमुख जिल्ला अधिकारी ऋषिराम तिवारीले काठमाडौं र धादिङ जिल्ला प्रशासनसँगको समन्वयमा उक्त निर्णय भएको जानकारी दिए ।
आयोजनाले नागढुंगा-पिपलामोड खण्ड निर्माणका लागि सडक बन्द गर्नु परेको बताएको छ । नारायणगढ मुग्लिन सडक योजना (पूर्वी खण्ड)ले काठमाडौंबाट जाने सवारी साधन नागढुंगामा र नौबिसेतर्फबाट काठमाडौं आउने सवारी साधन खानीखोलामा रोकिने जनाएको छ । प्रहरीले विकल्पमा धार्के-सीतापाइला तथा टोखा-छहरे-त्रिशूलीगल्छी सडक प्रयोग गर्न अनुरोध गरेको छ ।
