नाइमा एक्स्पोको अवधि एक दिन थप

काठमाडौं । नाइमा नेपाल मोबिलिटी एक्स्पो २०२५ को चौथो दिनमा अवलोकनकर्ताको घुइँचो बढेपछि प्रदर्शन अवधि एक दिन थप गरिएको छ । पाँच दिनका लागि साउन २१ गते सुरु गरिएको नाइमा एक्स्पोको अवधि एक दिन थप गरिएको आयोजक नेपाल अटोमोबाइल इम्पोर्टर्स एन्ड म्यानुफ्याक्चरर्स एसोसिएसन (नाइमा) ले जनाएको हो ।
दर्शकको उच्च आगमनका कारण भृकुटीमण्डपस्थित प्रदर्शनी स्थलमा रौनक छाएको छ । आफूलाई मनपर्ने सवारीसाधन अवलोकन गर्ने, सोधपुछ गर्ने, बुकिङ गर्ने र खरिद गर्नेहरुको घुइँचो रहेको प्रदर्शनी शनिबारको मुसलधारे वर्षामा पनि निर्वाध सञ्चालन भएको छ । अरु दिन कार्यालयको कामकाजमा व्यस्त रहनेहरुले शनिबारको विदालाई उपयोग गर्दा प्रदर्शनीस्थल भरिभराउ भएको थियो ।
एक्स्पोका प्रारम्भिक तीन दिनमा सर्वसाधारणका साथै वरिष्ठ कलाकारहरु, कूटनीतिक नियोगका कर्मचारीहरु, सरकारी तथा गैरसरकारी संस्थाका व्यक्ति र व्यापारीलगायत समाजका सबै तहका व्यक्तिले उपस्थिति जनाएका छन् । प्रदर्शनीको पहिलो दिन १५ हजार, दोस्रो दिन साढे १३ हजार, तेस्रो दिन साढे १९ हजार र आज शनिबार २१ हजार ५ सय अवलोकनकर्ताले नाइमा नेपाल मोबिलिटी एक्स्पोमा सहभागिता जनाएका छन् ।
