Back To Top

June 16, 2024

धमाधम ठेक्का लाग्दै एमसीसीका परियोजना

Global Ime Bank

काठमाडौँ २असार

परियोजना तयारी भन्दै लामो समय गुजारेको आरोप खेप्दै आएको एमसिए–नेपालले विद्यूत पूर्वाधार अन्तरगत सबस्टेनस निर्माण कार्यमा भने पछिल्लो समय देखिने गरी काम गरेको पाइएको छ । करिव १ महिना पहिले नवलपरासीस्थित न्यु बुटवल सबस्टेसन निर्माणको ठेक्का संझौता गरेकामा शुक्रबार नुवाकोटको बेलकोटगढी नगरपालिका–७ रातमाटेमा ४०० केभी सबस्टेसन निर्माण गर्न भारतको टेक्नो इलेक्ट्रिक एण्ड इञ्जिनियरिङ कम्पनी लिमिटेडसँग सम्झौता गरेको छ ।

उक्त ४०० केभी ग्यास इन्सुलेटेड स्विचगियर (जीआईएस) सबस्टेसनको निर्माण ३९ महिनाभित्र निर्माण गरिनेछ । निर्माण सम्पन्न भएपछि एक हजार मेगाभोल्ट एम्पियर क्षमताको हुने रातमाटे सबस्टेसन नेपालकै ठूला सबस्टेशनहरूमध्ये एउटा हुनेछ । ५.१६ करोड अमेरिकी डलरमा निर्माण गरिने नयाँ रातमाटे सबस्टेसनले लप्सीफेदी र नयाँ हेटौंडा सबस्टेसनहरूबीच विद्युत् प्रसारणको लागि महत्वपूर्ण सेतुका रूपमा काम गर्नेछ । रातमाटे सबस्टेसनमा जलविद्युत् आयोजना र सबस्टेसनहरूबाट प्राप्त हुने ३,२०० मेगावाटभन्दा बढी बिजुली प्रसारण गर्ने क्षमता पनि हुनेछ । नेपालमा औद्योगिक र व्यावसायिक क्रियाकलापमा वृद्धि ल्याउन यस सबस्टेसनमा विभिन्न भोल्टेज स्तरमा उपलब्ध हुने भरपर्दो बिजुली वितरण गरिनेछ ।
न्यु बुटवल देखि नेपाल भारत सिमानासम्म बनाउने १८ किलो मिटर प्रशारणलाइन पनि एक महिनामा ठेक्का सम्झौता गर्ने तयारी छ । तेस्रो दमौली सबस्टेसन पनि टेण्डर गर्ने तयारीमा एमसीए नेपाल छ । प्रशारणलाइन समेतको ठेक्का सन् २०२४ भित्र सम्पन्न गर्ने योजना उसको छ ।
संझौतापत्रमा एमसिए–नेपालका कार्यकारी निर्देशक खड्ग बहादुर विष्ट र टेक्नो इलेक्ट्रिक एण्ड इञ्जिनियरिङ कम्पनी लिमिटेडका व्यापार निर्देशक राजीव अग्रवालले एमसीसी र एमसिए–नेपालका पदाधिकारीहरूको उपस्थितिमा सम्झौतामा हस्ताक्षर गरेर आदानप्रदान गरे । एमसीसी नेपाल कम्प्याक्ट अन्तर्गत निर्माण गर्न लागिएका तीनवटा सबस्टेसनमध्ये एमसिए–नेपालले हस्ताक्षर गरेको यो दोस्रो सबस्टेशन निर्माण सम्झौता हो ।

नेपाल विद्युत् प्राधिकरणका प्रबन्ध निर्देशक कुलमान घिसिङले एमसिए–नेपाललाई बधाई दिँदै भन्नुभयो, “नेपालको प्रसारण प्रणाली विकास योजना (टीएसडीपीएन) मा नेपालको राष्ट्रिय विद्युत् प्रसारण प्रणालीको महत्वपूर्ण अङ्गका रूपमा परिकल्पना गरिएको ४०० केभी रातमाटे सबस्टेसन नेपालको ऊर्जा क्षेत्रमा एमसीसी नेपाल कम्प्याक्टको अर्काे महत्वपूर्ण उपलब्धि हुनेछ ।”
निर्माण सम्झौतामा हस्ताक्षर सम्पन्न भएकोमा एमसिए–नेपाललाई बधाई दिँदै मिलेनियम च्यालेञ्ज कर्पोरेशनका आवासीय राष्ट्रिय निर्देशक श्री डायन एल. फ्रान्सिस्कोले भन्नुभयो, “तीनवटा सबस्टेशनमध्ये दोस्रो रातमाटे सबस्टेसन निर्माण सम्झौतामा हस्ताक्षरबाट एमसीसी नेपाल कम्प्याक्ट कार्यान्वयनले गति लिएकोले यसलाई एउटा कम्प्याक्ट कार्यान्वयनका सन्दर्भमा ठुलो फड्कोका रूपमा लिन सकिन्छ । आगामी केही वर्षमा एमसीसी नेपाल कम्प्याक्टको प्रगतिले नेपालको बढ्दो ऊर्जा क्षेत्रमा महत्वपूर्ण योगदान पुग्ने कुरामा हामी विश्वस्त छौँ ।”

Prev Post

 डाटा सेन्टर सञ्चालनमा , आफ्नै क्लाउड बनाउने तयारी

Next Post

सन्धिखर्क–तम्घास प्रसारण लाइन सम्पन्न, विद्युत् आपूर्ति भरपर्दो हुने

post-bars

Leave a Comment