Back To Top

November 10, 2024

तिलिचोको बेसक्यापमा राष्ट्रिय ग्रिडको बिजुली

Global Ime Bank

काठमाडौं ।
हिमालपारिको जिल्ला मनाङस्थित पर्यटकीय स्थल तिलिचो तालको आधार शिविर (बेस क्याम्प)मा राष्ट्रिय प्रसारण ग्रिडको विद्युत् पुगेको छ ।

मनाङ ङिस्याङ गाउँपालिका–९ खाङ्सारस्थित समुद्री सतहबाट ४ हजार २ सय ५० मिटर उचाइमा रहेको बेस क्याम्पमा राष्ट्रिय प्रसारण लाइन पुर्याएर विद्युत् आपूर्ति दिन सुरु गरिएको छ । बेस क्याम्पमा ५० केभिए क्षमताको वितरण ट्रान्सफर्मर राखी विद्युत् आपूर्ति दिइएको हो ।

बेस क्याम्पमा १० वटा होटल, स्वास्थ्य चौकी र स–साना रेस्टुरेन्टहरु सञ्चालित छन् । बेस क्याम्पमा विद्युत्का ग्राहक सङ्ख्या १५ छ । राष्ट्रिय प्रसारण लाइन पुग्नुभन्दा पहिले बेस क्याम्पमा सौर्य ऊर्जा र डिजेल जेनेरेटरबाट विद्युत् उत्पादन गरी आपूर्ति हुँदै आएको थियो । उक्त स्थान अन्नपूर्ण संरक्षण क्षेत्रभित्र पर्दछ ।

सौर्य ऊर्जाको व्याकपले नधान्दा पर्यटकीय स्थलमा विगतमा विद्युत् आपूर्तिको ठूलो समस्या रहेको उल्लेख गर्दै मनाङ ङिस्याङ गाउँपालिका–९का वडाध्यक्ष च्योल्पा गुरुङले राष्ट्रिय प्रसारण लाइन पुगेपछि अहिले धेरै सहज भएको बताए ।

‘राष्ट्रिय लाइन पुगेपछि बेस क्याम्पबाट तिलिचो ताल जाने पैदलयात्रीहरुको अक्सिजन तह मापन गर्न मेसिन राखिएको छ, विद्युत्को प्रयोग गरी पानी उमाल्न थालिएको छ जसले गर्दा ग्याँसको प्रयोग करिब ४० प्रतिशतले कटौती भएको छ’,’ बेस क्याम्पमा होटलसमेत सञ्चालन गर्दै आएका वडाध्यक्ष गुरुङले भने । ‘लाइनलाई भरपर्दो र गुणस्तरीय बनाउन सकिएमा होटलमा एसी राख्न र खाना पकाउन विद्युतीय चुलो इन्डक्सन प्रयोग गर्न सकिन्छ ।’ उनले उक्त क्षेत्रमा दाउरा महंगो हुने भएकाले खाना पकाउन, पानी उमाल्न ग्याँसको प्रयोग हुने गरेको उल्लेख गरे ।

केहीदिनअघि मनाङ ङिस्याङ गाउँपालिका–९ खाङ्सार पुगेका नेपाल विद्युत प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङले धार्मिक एवम् पर्यटकीय क्षेत्रलाई उज्यालो बनाउने अभियानअन्तर्गत तिलिचो तालको बेस क्याम्पमा राष्ट्रिय प्रसारण लाइनको विद्युत पुर्याइएको बताए ।

वडाध्यक्षसहित स्थानीयसँगको छलफलमा कार्यकारी निर्देशक घिसिङले भने ,‘बेस क्याम्पमा राष्ट्रिय ग्रिड पुर्याउनमा केन्द्रीत थियौं, ठूलो सङ्ख्यामा स्वदेशी तथा विदेशी पर्यटकहरु आवतजावत हुने मनाङ जिल्लाको समग्र विद्युत् आपूर्तिलाई भरपर्दो र गुणस्तरीय बनाउन लाइन सुधारलगायतका कामहरु उच्च प्राथमिकतामा राखी अगाडि बढाउने छौं ।’

लमजुङको मस्र्याङ्दी गाउँपालिका–५ घेर्मुस्थित राधी साना जलविद्युत् केन्द्रको सबस्टेसनबाट ३३ केभी विद्युत् प्रसारण लाइन चामे गाउँपालिका–१ स्याक्र्युस्थित ३३/११ केभी सबस्टेसनमा पुर्याइएको छ । उक्त सबस्टेसनबाट ११ केभी लाइन सदरमुकाम चामे हुँदै बेस क्याम्पमा पुर्याइएको हो ।

प्राधिकरणले मनाङमा विद्युत् आपूर्तिका लागि ४५ किलोवाटको चामे साना जलविद्युत र ८० किलोवाटको मनाङ साना जलविद्युत केन्द्र सञ्चालन गरेको छ । राष्ट्रिय प्रसारण लाइन ट्रिपिङ भई बन्द भएको वेला साना जलविद्युत केन्द्रबाट विद्युत् उत्पादन गरी आपूर्ति दिने गरिएको प्राधिकरण मनाङ वितरण केन्द्र प्रमुख राजु महतोले बताए ।

मस्र्याङ्दी करिडोर २२० केभी प्रसारण लाइन आयोजनाअन्तर्गत मनाङको नासोँ गाउँपालिका–१ धारापानीमा २२० केभी क्षमताको सबस्टेसन निर्माण सम्पन्न भई त्यहाँबाट लाइन दिन सुरु गरेपछि मनाङको विद्युत् आपूर्तिमा सुधार हुनेछ ।
धारापानी सबस्टेसनमा स्थानीय रुपमा विद्युत आपूर्तिका लागि आवश्यक संरचनाको व्यवस्था गरिएको छ ।

उक्त सबस्टेसनबाट लाइन दिन थालेपछि प्रसारण लाइन लम्बाइ घटी विद्युत् अपूर्तिमा सुधार हुनेछ ।धरापानी सबस्टेसन डेढ वर्षभित्र निर्माण सम्पन्न गर्ने गरी काम भइरहेको नेपाल विद्युत् प्राधिकरणले जनाएको छ ।

 

Prev Post

कोप–२९ मा भाग लिन अजरबैजान जाँदै राष्ट्रपति पौडेल

Next Post

सौर्य परियोजनाको ६४ कम्पनी  चयन

post-bars

Leave a Comment