Back To Top

August 3, 2024

घरेलु तथा साना उद्योगलाई सरकारको साथ

Global Ime Bank

काठमाडौं,

उद्योग वाणिज्य तथा आपूर्ति मन्त्री दामोदर भण्डारीले घरेलु तथा साना मझौला उद्यम प्रवद्धन सरकारको प्राथमिताको क्षेत्र रहेको बताएका छन् । नेपालको निर्यात जन्य बस्तु उत्पादनमा सो क्षेत्र महत्वपूर्ण रहेको जिकीर गर्दै उनले यस्ता उद्योेगको प्रबद्र्धन र विकासमा सरकार हरतरहले लागेको बताएका हुन् ।

नेपाल घरेलु तथा साना उद्योग महासंघका पदाधिकारीहरुसँग सिंहदरबारमा भएको छलफलमा उनले आत्मनिर्भर अर्थतन्त्र निर्माणको आधार भनेकै लघु, घरेलु, साना तथा मझौला उद्योग भएको औल्याए । “घरेलु तथा साना उद्योग भनेको तान बुन्ने मात्रै होइन, कृषि उद्योग उत्पादनमूलक उद्योग, जडिबुटी जस्ता नेपालको स्रोतसाधन सबैसँग जोडिएको हुन्छ । यसलाई माथि उठाउने काम गर्न नीति कानुनको सहजीकरण गर्न मन्त्रालय तयार छ,” उनले भने ।सरकारले नीतिमा सहुलियत दिने हो । उद्योग त उद्योगी व्यवसायीले चलाउने हो । त्यसैले उद्योगी व्यवसायीलाई प्रोत्साहित गर्ने र उद्योग व्यवसायको विकासका लागि सरकार प्रतिवद्ध रहेको उद्योग मन्त्री भण्डारीको भनाई थियो । मन्त्रालयका सचिव कृष्णबहादुर राउतले साना उद्योगीहरुकै लागि स्टार्टअप कार्यक्रम ल्याइएको भन्दै आगामी दिनमा पनि यस्ता कार्यक्रमहरुलाई निरन्तरता दिइने जानकारी दिए ।

छलफलमा महासंघका अध्यक्ष उमेशप्रसाद सिंहले संघीय संरचना अनुरुप स्थानीय, प्रदेश र केन्द्रीय सरकारको कार्यक्षेत्र र जिम्मेवारी उल्लेख गरिएको औद्योगिक नीति तर्जुृमा गर्न आवश्यक देखिएको औल्याए ।स्वदेशी वस्तुहरु मात्र रहने गरी केन्द्रीय स्तरमा एउटा अन्तर्राष्ट्रिय स्तरको बिक्री कक्ष स्थापना गर्न आवश्यक बजेटको व्यवस्था गरिदिन उनले मन्त्री भण्डारीलाई अनुरोध गरे । स्वेदेशमै उपलब्ध हुन सक्ने वस्तु पनि विदेशबाट आयात गर्ने परिपाटीले स्वदेशी उद्योगका उत्पादनहरुले बजार नपाइरहेकोले स्वदेशी उद्योगहरु धराशायी हुँदै गइरहेकाले सार्वजनिक निकायमा स्वदेशी वस्तुको उपयोग सम्बन्धी कार्यविधिको प्रभावकारी कार्यान्वयन हुनुपर्नेमा उनले जोड दिए । लघु, घरेलु तथा साना उद्योग दर्ता र नविकरण गर्दा स्थानीय तहको वडा, पालिका, प्रदेश र केन्द्रमा कम्पनी रजिष्ट्रार समेतमा कागजात र राजश्व बुझाउनु पर्ने झण्झटिलो व्यवस्थाले व्यवसायमैत्री वातावरण नबनेको प्रति सरकारको ध्यानाकर्षण गराउँदै यसलाई एकद्वार प्रणाली मार्फत दर्ता र नविकरण गर्ने व्यवस्था गर्नुपर्ने अध्यक्ष सिंहले बताए ।

अहिले स्थानीय तहमा लघु उद्योग ग्राम, घरेलु तथा साना उद्योग ग्राम बनाउने पूर्व कार्यक्रम व्यवस्थित हुन नसकेको हुँदा त्यस्ता उद्योग स्थापना र सञ्चालनका लागि संघीय सरकारले स्थानीय तहलाई सिधै अनुदान दिने व्यवस्था गर्नुपर्ने उहाँको भनाई थियो । स्टार्टअप व्यवसाय अहिले फेशन जस्तो बन्दै गइरहेको परिप्रेक्ष्यमा स्टार्टअप व्यवसायको ठोस परिभाषा एकिकृत गरी सोही अनुरुप स्टार्टअप व्यवसायलाई पूँजी र प्रविधिमा सहयोग पु¥याउन कर्जा व्यवस्था गर्नुपर्ने सिंहले बताए ।

कार्यक्रममा महासंघका पूर्व अध्यक्षहरु वासु गिरी र लता प्याकुरेल, निवर्तमान अध्यक्ष श्याम गिरी, वरिष्ठ उपाध्यक्ष सूर्य कँडेल, उपाध्यक्षहरु शोभा गुरुङ र सत्यनारायण प्रजापति, महासंघ बागमती प्रदेशका उपाध्यक्ष रामकृष्ण खड्कालगायतको सहभागिता थियो ।

 

Prev Post

निर्माण कम्पनीलाई प्रवाह हुने कर्जामा पनि ‘क्रेडिट रेटिङ्ग ’

Next Post

प्रधानमन्त्रीले मागे पोखरा र गौतम बुद्ध विमानस्थल पूर्ण सञ्चालन योजना

post-bars

Leave a Comment