क्रसर व्यवसायीहरूद्वारा आन्दोलनको चेतावनी

क्रसर व्यवसायी महासंघका अध्यक्ष सिताराम न्यौपानेको अध्यक्षतामा राजधानीमा सम्पन्न महासंघको केन्द्रिय कार्यसमितिको पाँचौँ बैठकले सरकारसँग पटक–पटक माग राख्दा पनि सम्बोधन नभएको भन्दै अब आन्दोलनको बाटो रोज्ने निर्णय गरेको हो।
अध्यक्ष न्यौपानेका अनुसार देशका ७७ वटै जिल्लामा कानुनअनुसार दर्ता भई इजाजत लिएका क्रसर उद्योगहरू वर्षौंसम्म नविकरण हुन सकेका छैनन्। उनले भने, “गृह मन्त्रालय, भौतिक पूर्वाधार तथा यातायात मन्त्रालय, अर्थ मन्त्रालय लगायतका निकायले समन्वय गर्नुपर्ने जिम्मेवारी एक अर्कामाथि थोपरेर पन्छिने प्रवृत्ति देखिएको छ।”
महासंघले सरकारले कानुनी आधारमा दर्ता भएका उद्योगहरूलाई नवीकरण गरी क्रसर उत्पादन, उत्खनन तथा बिक्री वितरण गर्न पाउने वातावरण तत्काल सिर्जना गर्नुपर्ने माग दोहोर्याएको छ।
२०७३ सालपछि क्रसर उद्योगहरूको नवीकरण रोकिएको थियो भने २०७७ सालमा जारी गरिएको नयाँ मापदण्डले एक वर्षको समयसीमा दिएको भए पनि व्यवसायीहरू सर्वोच्च अदालत पुगेका थिए। तर, २०७७ चैत ९ गते अदालतले उनीहरूको रिट खारेज गरिसकेको छ।
“हामीले कर तिरेर कानुनअनुसार व्यवसाय गर्न पाउने अधिकार सुनिश्चित गर्नुपर्छ,” अध्यक्ष न्यौपानेले भने, “यदि माग सुनुवाइ भएन भने आन्दोलनलाई अझ सशक्त बनाइनेछ।”
व्यवसायीहरूले संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालय, उद्योग मन्त्रालय, प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय, र गृह मन्त्रालयलाई ज्ञापनपत्र बुझाइसकेका छन्।
अध्यक्ष न्यौपाने भन्छन्, “२०७७ को मापदण्ड अघिनै सञ्चालनमा रहेका उद्योगहरूमा पनि लागू गर्ने व्यवस्था अन्यायपूर्ण छ। यदि लागू गर्नैपर्छ भने नयाँ स्थान उपलब्ध गराएर मात्र उद्योग सर्न सक्ने अवस्था बनाइनुपर्छ।”