Back To Top

April 27, 2025

अर्थतन्त्र सुधारोन्मुख तर चुनौती कायमैः ढुङ्गाना

Global Ime Bank AD

काठमाडौँ । नेपाल राष्ट्र बैंकका कायममुकायम गभर्नर डा नीलम ढुङ्गाना तिम्सिनाले मुलुकको अर्थतन्त्रको बाह्य क्षेत्र सुधारोन्मुख देखिए पनि आन्तरिक रुपमा अझै सङ्कटग्रस्त रहेको बताएकी छिन् ।

आज आयोजित राष्ट्र बैंकको ७०औँ वार्षिकोत्सव समारोहमा  ढुङ्गानाले मुलुकको अर्थतन्त्र बिस्तारै लयमा आउन थालेको समेत उल्लेख गरिन् ।

“उच्च तरलता एवम् न्यून ब्याजदरका बाबजुद निजी क्षेत्रतर्फ प्रवाहित कर्जा एवम् आन्तरिक मागमा अपेक्षित सुधार हुन नसक्नु, पुँजीगत खर्च अपेक्षित रूपमा बढ्न नसक्नु र सञ्चालनमा रहेका परियोजनाहरू समयमै सम्पन्न हुन नसक्नु जस्ता चुनौतीहरू अर्थतन्त्रमा कायमै छन्”, उनले भनिन् ।

यद्यपि केही सूचकहरु क्रमशः सुधार हुँदै गएको पनि उनले उल्लेख गरिन् । मुद्रास्फीति लक्षित सीमाभित्रै रहेको, आयात तथा निर्यात व्यापारमा सुधार भएको एवम् बैंकिङ क्षेत्रबाट प्रवाहित कर्जा बिस्तारले समेत गति लिन थालेको ढुङ्गानाको भनाइ छ । “पछिल्लो समय भएको कानुनी सुधारले लगानीको वातावरण सहज बनाएको छ । यसले समग्र आर्थिक गतिविधिलाई थप चलायमान बनाउने अपेक्षा छ” उनले भनिन् ।

बाह्य सूचकहरु सबल बन्दै गएपनि आन्तरिक अर्थतन्त्रमा संरचनागत एवम् व्यवस्थापनजन्य विषयहरूको सम्बोधन अत्यावश्यक भइसकेको उनको भनाइ छ ।

दुई वर्षदेखि घट्दै गएको वस्तु निर्यात र आयात चालु आर्थिक वर्षको कात्तिकदेखि बढ्न थालेको , विप्रेषण आप्रवाह र पर्यटन आयमा वृद्धि भएका कारण देशको शोधनान्तर बचतमा रहन गई विदेशी विनिमय सञ्चिति बढेको, वित्तीय पहुँच र डिजिटल अर्थतन्त्रको बिस्तारमा उल्लेख्य प्रगति भएको जस्ता सुधार अर्थतन्त्रमा देखिएको कामु गभर्नर ढुङ्गानाले बताइन् ।

बाह्य कारणले गर्दा मुद्रास्फीति, वैदेशिक सहायता एवम् बाह्य क्षेत्र व्यवस्थापनमा चुनौती थपिने देखिएको ढुङ्गानाले बताइन् । पछिल्लो समय खासगरी अमेरिकाको अन्तरराष्ट्रिय व्यापार र आर्थिक सहयोग नीति तथा भूराजनीतिक तनावजस्ता बाह्य कारणले अर्थतन्त्रमा थप दबाब पर्न सक्ने जोखिम कायमै रहेको तर्फ पनि उनले सचेत गराइन् ।

 

Global Ime Bank
Prev Post

२८ अर्वकेा ट्रेजरी बिल ल्याईदै

Next Post

मंगलबारसम्म हल्कादेखि मध्यम वर्षाको सम्भावना

post-bars

Leave a Comment