विमाको करोड असुल्न आफै पसलमा आगो
कास्की
विमाको लोभमा आफनै पसल जलाएको अभियोगका कास्की प्रहरीले २ जनालाई पक्राउ गरेको छ । प्रहरीले पोखरा महानगरपालिका वडा नं। ६ लेक साइड, नारेश्वरस्थित आफ्नै सपिङ सेन्टरमा आगो लगाउने पोखरा–१७का २६ वर्षीय सुजन गहतराज र सो कार्यमा उनलाई सहयोग गर्ने ४३ वर्षीय पवन नेपाललाई पक्राउ गरेको हो ।
कास्कीका प्रहरी प्रमुख मोहनकुमार थापाका अनुसार गहतराजको मुक्तिनाथ सपिङ सेन्टरमा साउन १६ गते राति सवा २ बजे आगलागी भएको थियो ।
“उहाँहरूले योजना बनाएर राति गएर आगो लगाएको देखियो । बिमाका लागि आफ्नो व्यवसायमा आफैँ आगो लगाएको घटना कास्कीका लागि नयाँ हो,”उनले भने । आगलागी लगत्तै गएको प्रहरी टोलीले सवा ३ बजे राति आगो नियन्त्रणमा लिएको थियो ।
आगलागीको भोलिपल्टै घरधनीले करिब ७५ क्षति भएको उल्लेख गरेको र गहतराजले डेढ करोड क्षति भएको दाबी गरी निवेदन दिएको खुलेको छ । मुक्तिनाथ सपिङ सेन्टरको सन् २०२४ मार्च १५ मा दुई करोड १० लाख रुपैयाँको बिमा गरिएको थियो । नेपालले गत वर्ष आफ्नो कृषि फर्ममा यसरी नै आगो लगाएर ३१ लाख क्षतिपूर्ति लिइसकेको प्रहरी अनुसन्धानमा खुलेको छ ।