Back To Top

August 17, 2024

वर्षा र तापक्रम बृद्धि थामे विपतको कारक आशंका

Global Ime Bank AD
Insourance

सोलुखुम्बुको खुम्बु पासाङल्हामु गाउँपालिकाको थामे बस्ती बग्ने गरी खोलामा बाढी आउनुको कारण अझै यकिन हुन सकेको छैन । स्थानीय र केहि विज्ञले हिमाली क्षेत्रमा हिमताल फुट्दा एक्कासी बाढी आएको आशंका गरेपनि स्थलगत निरिक्षण सम्भव नहुँदा कारण पहिचान हुन नसकेको हो ।

जल तथा मौसम विज्ञान विभागको बाढी पूर्वानुमान महाशाखाले बाढीबारे प्रारिम्भक जानकारी दिँदै उक्त क्षेत्रमा साना र ठूला गरी छ वटा हिमताल र हिमपोखरी रहेको जनाएको छ तर कुन चाहिँ हिमताल फुट्यो वा अन्य कारणले बाढी आयो यकिन गर्न सकेको छैन । जल तथा मौसम विज्ञान विभागले सोलुखुम्बुको खुम्बु पासाङल्हामु गाउँपालिका–४ स्थित थामे खोलामा एक्कासी आएको बाढी हिमपहिरोका कारण हुनसक्ने अनुमान गरेको छ।

“उक्त क्षेत्र नजिक रहेको फोत्र्से केन्द्रमा विगत सात दिनमा ६५ मिलिमिटर वर्षा मापन भएको, साउन २५ गतेदेखि दैनिक औसत तापक्रम क्रमशः ९.७ देखि ११ डिग्री सेल्सियससम्म पुगेको र बिहीबार १५.९ डिग्री तापक्रप पुगेको महाशाखाले जनाएको छ । “निरन्तर वर्षा र तापक्रम वृद्धिले सो क्षेत्रमा हिमपहिरो गएको अनुमान गरिएको छ। शुक्रबार दिउँसो थामे खोलामा आएको बाढीपछि खुम्बु र तल्लो सोलुका नदी आसपासका क्षेत्रमा कटान जारी रहेको छ ।

जिल्ला प्रहरी कार्यालयका सोलुकाअनुसार नदीमा पानीको मात्रा केही कम भए पनि कटान भने शनिबार सम्म जारी छ । बाढीले खुम्बु पासाङल्हामु–५ थामेका २० घर तथा होटल लज, एउटा स्वास्थ्यचौकी र विद्यालय बगाएको थियो । बाढीले स्थानीय विद्युत् आयोजनाको विद्युत् गृह पूर्ण रुपले क्षतिग्रस्त बनाएको छ ।

खुम्बु पासाङल्हामु–३ फाक्दिङदेखि नाम्चे जामे क्षेत्रमा करिब दुई सय मिटर पदमार्ग कटान गरेको छ । उद्धारका लागि नेपाली सेना र नेपाल प्रहरी खटिएको जनाइएको छ । तर सुरक्षाकर्मी तथा स्थानीय जनप्रतिनिधिसमेत प्रभावित क्षेत्रमा पुग्न नसक्दा राहत उद्धार नै समस्या भइरहेको जनाइएको छ ।

नेपाली सेना र प्रहरीले थामेबाट ९३ जनाको उद्धार गरी आर्मीक्याम्पमा राखेको छ भने ४२ जनालाई स्थानीय सामुदायिक भवनमा राखिएको छ ।बाढीले तल्लो सोलुको तटीय क्षेत्रमा पनि असर गरेपछि माप्यदूधकोसी गाउँपालिका–६ का पाँच परिवारलाई प्रहरीले अन्यत्र स्थानान्तरण गरेको छ ।

उक्त बाढी भोटेकोसी हुँदै दूधकोसीमा मिसिँदा सोलुखुम्बुको तल्लो क्षेत्रमा पर्ने माप्य–खुम्बु मितेरी पक्की पुलमा क्षति पुगेको छ ।
बाढीले कोसी आसपासका क्षेत्र कटान गर्दा खुम्बु पासाङल्हामु गाउँपालिका र माप्यदूधकोसी गाउँपालिका जोड्ने दूधकोसी नदी माथिको पक्की मोटरेबल पुलमा क्षति पुगेको प्रहरीले जनाएको छ ।

पुलमा क्षति पुगेसँगै सल्लेरीबाट खुम्बु सञ्चालन हुँदै आएको सिधा सडक सञ्जालसमेत टुटेको बताइएको छ । खुम्बु क्षेत्रबाट उक्त बाढी हिमताल फुटेर आएको हुनसक्ने सगरमाथा प्रदूषण नियन्त्रण समितिका अध्यक्ष लामाकाजी शेर्पाले बताए । कुन हिमताल फुट्यो भन्ने यकीन नभएको उनको भनाइ छ ।

United long banner ad
Prev Post

सय दिनको कार्ययोजनामा अर्थ मन्त्रालय

Next Post

इन्डोनेसियाको स्वतन्त्रता दिवस, काठमाडौँमा झन्डोत्तोलन

post-bars

Leave a Comment