काठमाडौँ, ९ मङ्सिर
नेपाल उद्योग वाणिज्य महासङ्घका निवर्तमान अध्यक्ष चन्द्रप्रसाद ढकालले २०४६ सालको आर्थिक उदारीकरणपछि नेपाल भित्रिएका पुराना विदेशी लगानी मुख्यतय भारतीय लगानीको अभिलेखीकरण (लेखांकन) नहुँदा लगानी नयाँ लगानी आकर्षित गर्न समस्या परेको बताएका छन् ।
१२ औँ राष्ट्रिय उद्योग दिवसका अवसरमा बुधबार उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालयद्वारा आयोजितकार्यक्रममा मन्तव्य राख्दै आइएमई ग्रुपका अध्यक्ष समेत रहनुभएका ढकालले पुराना विशेषगरी भारतीय लगानीको अभिलेखीकरण नहुँदा लगानीकर्ताहरूले व्यवसाय विस्तार गर्न, थप पुँजी भित्राउन, प्रतिफल लैजान र व्यवसायबाट बाहिरिनसमेत गम्भीर समस्या भोग्नुपरेको अनुभव सुनाए । “उद्योग प्रवद्र्धन बोर्डमार्फत एकपटकका लागि यस्ता पुराना लगानीको अभिलेखीकरणको गाँठो फुकाइदिने हो भने नेपालमा काम गरिरहेका लगानीकर्ताबाट सकारात्मक सन्देश जानेछ,” उनले भने, “यसले नयाँ वैदेशिक लगानी भित्र्याउन ठूलो मद्दत पुग्नेछ ।”
निजी क्षेत्र रोजगारी सिर्जना, राजस्व सङ्कलन र पूर्वाधार निर्माणको मुख्य आधार हो भन्ने कुरालाई नयाँ सरकारले आत्मसात् गरेको उनकोे भनाई थियो । “पूर्वाधार सम्मेलनको तयारीका क्रममा ५९ वटाभन्दा बढी कानुन संशोधन गर्ने सरकारको कदम अत्यन्तै सराहनीय छ,” उनले भने, “अब यसको भावनाअनुरूप तल्लो तहसम्म प्रभावकारी कार्यान्वयन हुनुपर्छ ।”
उद्योग मन्त्रालय र उद्योग विभागले सेवा प्रवाहमा गरेको सहजीकरण र डिजिटलाइजेशनको प्रशंसा गर्दै ढकालले निजी क्षेत्रमैत्री नीतिगत सुधारले अझ गति लिने अपेक्षा गरे ।. कार्यक्रममा ढकाललाई सम्मानसमेत गरिएको थियो ।
What do you feel about this post?
Like
Love
Happy
Haha
Sad