भारतसँग १८४ अर्ब ऋण तत्काल लिने हाेइन : अर्थमन्त्री डा. वाग्ले

अन्तर्राष्ट्रिय अर्थतन्त्र उर्जा राजनीति

काठमाडौं ९ मंसिर । अर्थमन्त्री डा. स्वर्णिम वाग्लेले भारतबाट प्राप्त १८४ अर्ब रुपैयाँ बराबरको ऋण तत्काल उपयोग नगरिने बताएका छन् ।

मंगलबार प्रतिनिधिसभाअन्तर्गतको अर्थ समितिको बैठकमा भारत भ्रमणका क्रममा भएका सहमति तथा सम्झौताबारे सांसदहरूले उठाएका प्रश्नको जवाफ दिँदै अर्थमन्त्री वाग्लेले यस्तो बताएका हुन् ।

उनले उक्त रकम आवश्यकता र आयोजना निर्माणको प्रगतिका आधारमा उपयोग गरिने ‘लाइन अफ क्रेडिट’ भएको बताए । “नेपालले भारतबाट ५६ अर्ब रुपैयाँ अनुदान र १८४ अर्ब रुपैयाँ बराबरको सहुलियतपूर्ण ऋण सुविधा प्राप्त गरेको छ,” उनले भने, ” उक्त वित्तीय स्रोतले नेपालको पूर्वाधार तथा ऊर्जा क्षेत्रको विकासमा लगानी अभाव हुन नदिने गरी परिचालन हुनेछ ।”

नेपालमा करिब ४० हजार मेगावाट विद्युत् उत्पादनको सम्भावना रहेको उल्लेख गर्दै वाग्लेले त्यसका लागि आवश्यक लगानी जुटाउन भारतसँग लाइन अफ क्रेडिटको व्यवस्था गरिएको बताए । विशेषगरी प्रसारण लाइनलगायत ऊर्जा पूर्वाधार निर्माणमा उक्त ऋण प्रभावकारी रूपमा उपयोग गर्न सकिने उनले बताए ।

यसअघि डलरमा ऋण लिँदा विनिमय दरमा हुने उतारचढावका कारण नेपालको ऋण दायित्व बढ्ने गरेको उल्लेख गर्दै अर्थमन्त्री वाग्लेले भारतीय रुपैयाँमै ऋण लिने र भुक्तानी गर्ने विकल्प उपलब्ध हुनु महत्त्वपूर्ण उपलब्धि भएको बताए ।

ब्याज र अवधि अनिश्चित

तर, १८४ अर्ब रुपैयाँ बराबरको ऋण कुन ब्याजदरमा उपलब्ध हुने, भुक्तानी अवधि कति रहने र ग्रेस पिरियड कति हुने भन्ने विषयमा प्राविधिक छलफल हुन बाँकी रहेको उनले जानकारी दिए । ऋण डलरमा लिने वा भारतीय रुपैयाँमा लिने भन्ने विकल्पसमेत खुला रहेको उनको भनाइ छ ।

यसअघि सडक निर्माणलगायतका आयोजनामा लाइन अफ क्रेडिट उपयोग गर्दा स्थानीय सामग्रीको प्रयोग र ठेकेदारसम्बन्धी सर्तका कारण समस्या देखिएको स्मरण गराउँदै वाग्लेले ऊर्जा क्षेत्रमा भने यसको उपयोग बढी प्रभावकारी हुने विश्वास व्यक्त गरे ।

उनले आवश्यकता र आयोजनाको तयारीअनुसार मात्रै ऋण परिचालन गरिने स्पष्ट पार्दै उपलब्ध वित्तीय सुविधालाई नेपालको विकास निर्माणमा अधिकतम उपयोग गर्ने सरकारको लक्ष्य रहेको बताए ।

यसैगरी, डा.वाग्लेले अर्थमन्त्री वाग्लेले भैरहवास्थित गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थलका लागि दोहोरो हवाई रुट उपलब्ध हुनु नेपालको कूटनीतिक प्रयासको महत्त्वपूर्ण उपलब्धि भएको बताए ।

उनले सांसदहरूले सुनकोशी–सप्तकोशी आयोजनाबारे उठाएको प्रश्नमा  यो नयाँ आयोजना नभई सन् २००४ देखि नै नेपाल र भारतको संयुक्त अध्ययन प्रक्रियामा रहेको आयोजना भएको बताएका छन् ।

What do you feel about this post?

0%
like

Like

0%
love

Love

0%
happy

Happy

0%
haha

Haha

0%
sad

Sad

0%
angry

Angry

जवाफ लेख्नुहोस्

तपाईँको इमेल ठेगाना प्रकाशित गरिने छैन। अनिवार्य फिल्डहरूमा * चिन्ह लगाइएको छ