नेपालमा निर्धक्क लगानी गर्न अर्थमन्त्री वाग्लेको आह्वान,

अन्तर्राष्ट्रिय अर्थतन्त्र उद्योग उर्जा ताजा समाचार राजनीति

नयाँदिल्ली ।
प्रधानमन्त्री बालेन्द्र शाहसँगै दुईदिने राजकीय भारत भ्रमणमा रहनुभएका अर्थमन्त्री डा.स्वर्णिम वाग्लेले आइतबार नयाँदिल्लीमा नेपाल र भारतका निजी क्षेत्रलाई संयुक्त सम्बोधन गर्दै नेपालमा निर्धक्क भएर लगानी गर्न आह्वान गरेका छन् ।


नयाँदिल्लीस्थित होटल ताज प्यालेसमा भारतीय उद्योग परिसंघ (सीआईआई) द्वारा आयोजना गरिएको ‘इन्डिया–नेपाल बिजनेस राउन्डटेबल’लाई अर्थमन्त्री डा.वाग्लेले सम्बोधन गर्दै यस्तो आह्वान गरेका हुन् ।

उनले सूचना प्रविधि, जलविद्युत्, कनेक्टिभिटीजस्ता क्षेत्रमा निर्धक्क भएर नयाँ लगानी गर्न र नेपालमा भएको लगानी विस्तार गर्न भारतीय उद्योगी तथा व्यवसायीहरूलाई आग्रह गरे । “सूचना प्रविधि, जलविद्युत्, कनेक्टिभिटीजस्ता क्षेत्रमा निर्धक्क भएर नयाँ लगानी गर्न म भारतीय उद्योगी तथा व्यवसायीहरूलाई आग्रह गर्दछु,” अर्थमन्त्री डा‍ वाग्लेले भने, “नेपालमा लगानी गरेकाहरूले लगानी विस्तार गर्नुहोस् । नेपाल अहिले लगानीका लागि उर्वर वातावरण र सम्भावना भएको ठाउँ हो ।”

कार्यक्रमलाई सम्बोधन गर्दै अर्थमन्त्री वाग्लेले नेपालमा लगानी अभिवृद्धिका लागि सरकारले कानुनी सुधारलाई सरलीकृत र लगानीमैत्री बनाउँदै लगेको पनि स्पष्ट पारेका थिए ।

उनले लगानीको सुरक्षा, प्रतिफलको सुनिश्चितता र नाफा फिर्ताको कानुनी सहजीकरणका लागि सरकारले विशेष पहल लिइरहेको बताए ।
कार्यक्रममा भारतीय उद्योग वाणिज्य राज्यमन्त्री जितिन प्रसाद, सीआईआई अन्तर्राष्ट्रिय परिषद्का अध्यक्ष डा.विक्रमजित सिंह साहनीलगायतले सम्बोधन गरेका थिए ।

नेपाल–भारत सम्बन्धलाई व्यवसायको दृष्टिकोणबाट हेर्न व्यवसायीकाे अग्रह

नेपालबाट प्रधानमन्त्रीको भ्रमण दलमा रहेर भारत पुगे उद्योगी व्यवसायीसहित डेढ दर्जन भारतीय उद्योगी व्यवसायी एवम् प्रतिष्ठित भारतीय कम्पनीका प्रमुख कार्यकारी अधिकृतहरूको सहभागिता थियो ।

कार्यक्रममा नेपाल उद्योग वाणिज्य महासंघका अध्यक्ष अञ्जन कुमार श्रेष्ठले नेपाल र भारतबीचको आर्थिक सम्बन्धलाई नयाँ उचाइमा पुर्‍याउन व्यापार, पारवहन, सम्पर्क सञ्जाल, पूर्वाधार, ऊर्जा, लगानी र प्रविधिका सात क्षेत्रमा सहकार्य विस्तार गर्नुपर्ने बताएका छन् ।

उनले दुई देशबीचको साझेदारीलाई प्रभावकारी बनाउन सुरक्षित तथा आधुनिक सीमा व्यवस्थापन र लगानी संरक्षणका दुई प्रत्याभूति आवश्यक रहेको औँल्याए । अध्यक्ष श्रेष्ठले नेपाल–भारत सम्बन्धलाई इतिहास र संस्कृतिको दृष्टिकोणबाट मात्र नभई व्यापार र व्यवसायको दृष्टिकोणबाट पनि हेर्नुपर्ने बताए ।

उनले भारतीय उद्योग परिसंघ (सीआईआई) लाई धन्यवाद दिँदै उनले सीआईआई लामो समयदेखि नेपाल उद्योग वाणिज्य महासंघको साझेदार रहँदै आएको बताए । उनले भोटेकोशी र त्रिशूलीमा आएको बाढीले कठिन परिस्थिति निर्माण गरेको बताए ।

अध्यक्ष श्रेष्ठका अनुसार भारत नेपालको सबैभन्दा ठूलो व्यापारिक साझेदार हो । गत वर्ष नेपाल र भारतबीच करिब ९ अर्ब ४० करोड अमेरिकी डलर बराबरको व्यापार भएको स्मरण गराए ।

नेपालको कुल निर्यातको ८० प्रतिशतभन्दा बढी हिस्सा भारततर्फ जाने गरेको उल्लेख गरे । भारत नेपालको सबैभन्दा ठूलो लगानीकर्ता भएको बताए ।गत वर्ष नेपालले भारत र बंगलादेशमा विद्युत् बिक्री गरेर २९ अर्ब रुपैयाँ आम्दानी गरेको र यो अघिल्लो वर्षको तुलनामा ६८ प्रतिशत बढी रहेको उनले जानकारी गराए ।

हवाई मार्गबाट नेपाल आउने प्रत्येक चार पर्यटकमध्ये एक जना भारतीय नागरिक हुने गरेको, भारतीय पर्यटक पशुपतिनाथ, मुक्तिनाथ, जनकपुर र लुम्बिनीजस्ता धार्मिक स्थलको दर्शनका लागि आउने गरेको उल्लेख गर्दै उनले परिवारसहित बिदा मनाउन तथा विवाह समारोह आयोजना गर्नसमेत नेपाल आउने गरेको बताए ।

दुवै देशका नागरिकबीच आवतजावत र आर्थिक सम्बन्ध घनिष्ठ रहेको उल्लेख गर्दै अध्यक्ष श्रेष्ठले विदेशमा बसोबास गर्ने प्रत्येक तीन नेपालीमध्ये एक जना भारतमा बस्ने गरेको बताए । त्यस्तै, भारतले विप्रेषण प्राप्त गर्ने प्रमुख १० स्रोत मुलुकमध्ये नेपाल लामो समयदेखि पर्दै आएको उनको भनाइ थियो ।

”यति घनिष्ठ सम्बन्ध हुँदाहुँदै पनि नेपालमा भारतीय लगानीको कुल परिमाण एक अर्ब अमेरिकी डलरभन्दा कम रहेको छ” उनले भने । भारतले गत वर्ष मात्रै प्रत्यक्ष वैदेशिक लगानीमा ९४ अर्ब ५० करोड अमेरिकी डलरको कीर्तिमान कायम गरेको उल्लेख गर्दै उनले विगत दुई दशकदेखि भारतीय निजी क्षेत्रको लगानी नेपालमा अपेक्षाअनुसार आउन नसकेको उनको गुनासो छ । ”यो गम्भीर चिन्ताको विषय हो” उनले भने ।

What do you feel about this post?

0%
like

Like

0%
love

Love

0%
happy

Happy

0%
haha

Haha

0%
sad

Sad

0%
angry

Angry

जवाफ लेख्नुहोस्

तपाईँको इमेल ठेगाना प्रकाशित गरिने छैन। अनिवार्य फिल्डहरूमा * चिन्ह लगाइएको छ