काठमाडाै ।
रसुवा–भोटेकोशी बाढीबाट बेपत्ता भएका परिवारजन तथा आफन्तले राहत पाउने भएका छन् । यसकालागि बेपत्तालाई मृतकसरह राहत उपलब्ध गराउन राष्ट्रिय विपत् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणले शुक्रबार ५० करोड एक लाख रुपियाँ निकासा गरेको जनाएकाे छ । सो रकम जिल्ला विपत् व्यवस्थापन कोष हुँदै स्थानीय तहले माग गरेबमोजिम सोमबारसम्म स्थानीय तहको कोषमा पुग्ने छ ।
प्राधिकरणका अनुसार सात वटा जिल्लाले माग गरेबमोजिम उक्त रकम निकासा गरिएको हो । अन्य जिल्ला विपत् व्यवस्थापन कोषमा समेत माग अनुसार रकम पठाउने तयारी गरिएको छ । जिल्ला प्रशासन कार्यालय, नुवाकोटका प्रमुख जिल्ला अधिकारी शम्भुप्रसाद रेग्मीले सोमबारदेखि सम्बन्धित स्थानीय तहको विपत् कोषमा रकम पठाइने बताए ।
रेग्मीका अनुसार बेपत्ता नागरिक प्रतिपरिवार दुई लाखका दरले राहत उपलब्ध गराइने छ । एउटै परिवारका अर्को सदस्य बेपत्ता भएकाको हकमा थप एक लाखको दरले राहत उपलब्ध हुने बताइएकाे छ ।
सरकारले विपतसम्बन्धी केही नेपाल ऐन संशोधन गर्ने अध्यादेश, २०८३ ल्याएर साे विपतमा बेपत्ता भएकालाई मृतक घोषणा गर्ने व्यवस्था मिलाएकाे थियाे । संशोधित व्यवस्थाबमोजिम प्रचलित कानुनमा जुनसुकै कुरा लेखिएको भए पनि विपतमा बेपत्ता भएका व्यक्तिको मृत्युको घोषणा कार्यकारी समितिको सिफारिसमा नेपाल सरकारले गर्न सक्ने छ । गृह मन्त्रालयको सिफारिसमा मन्त्रीपरिषद्ले अब मृतक घोषणा गर्ने छ ।
मन्त्रीपरिषद्को बैठकले मृतक घोषणा गरेपछि रकम वितरण प्रक्रिया अगाडि बढ्ने छ । उत्तरगया गाउँपालिकाले बेपत्ता भएकाको परिवारलाई यसअघि आफ्नै कोषबाट २५ हजार रुपैयाँका दरले वितरण गरिसकेको छ ।
रसुवा–भोटेकोशी बाढीमा रसुवाबाट मात्रै करिब एक हजार ५३८ जना बेपत्ता भएका छन् । नुवाकोटको विदुर नगरपालिकाले भने बेपत्ता भएर मृतक घोषणा हुने र मृत्युको सनाखत भएका परिवारलाई सङ्घीय सरकारबाट रकम निकासा भएपछि वितरण गर्ने तयारी गरेको छ । नगरपालिकाका उपप्रमुख प्रभा बोगटीले मृतक र बेपत्ता परिवारले पाउने राहतसम्बन्धी कार्यविधि स्पष्ट नहुँदा रोकिएको काम अब सोमबारबाट सुरु हुने बताउनुभयो । कार्यविधिमा स्पष्टता नहुँदा वितरण हुन सकेन, अब सङ्घीय सरकारले समेत बेपत्तालाई मृतक घोषणा गर्ने तथा राहतको रकम निकासा गरेपछि एकै पटक वितरण गर्ने तयारी गरिएको उनले बताए।
कार्यविधिको अस्पष्टताले प्रदेश सरकारबाट काजकिरियाबापत विदुर नगरपालिकामा गत असोजमा निकासा भएको ४५ लाख रुपियाँ वितरण भएको छैन । नुवाकोटबाट भने बाढीमा ६३१ जना बेपत्ता भएका छन् ।
What do you feel about this post?
Like
Love
Happy
Haha
Sad