काठमाडौँ । टर्कीको अन्टाल्यामा जारी संयुक्त राष्ट्रसंघीय जलवायु परिवर्तन सम्मेलन (कोप–३१) मा नेपाली युवाहरूले भने विश्व समुदायको ध्यानाकर्षण गराउन नयाँ र सिर्जनात्मक प्रयास थालेका छन् । जलवायुजन्य विपद्को चर्को चपेटामा परेको नेपाललाई मुख्य वार्तामा विकसित राष्ट्रहरूले न्याय दिन हिच्किचाइरहेको भन्दै त्यहाँ भेला भएका नेपाली युवा अभियन्ता, अनुसन्धानकर्ता तथा जलवायु अभियानकर्मीहरूले रचनात्मक दबाब र कूटनीतिक पहलमार्फत विश्वलाई स्पष्ट सन्देश दिइरहेका छन् ।
आन्दोलनका सहभागीहरूले नेपाल र ‘ग्लोबल साउथ’ का विकासोन्मुख तथा प्रभावित राष्ट्रका अग्रपङ्क्तिका समुदायका लागि ठोस जलवायु न्यायको माग गर्दै सांकेतिक प्रदर्शन गरेका छन् । प्रदर्शनको मुख्य आकर्षण भोटेकोशीको विनाशकारी बाढीमा ज्यान गुमाएका व्यक्तिहरूको प्रतीकका रूपमा राखिएका पुतला थिए । नेपालमा जलवायुजन्य विपद् यति भयावह बन्दै गएको छ कि शोकसन्तप्त परिवारले आफ्ना प्रियजनको अन्तिम संस्कार गर्न शवसमेत फेला पार्न नसकेको तीतो यथार्थ ती पुतलाले झल्काएका थिए । हिमाली क्षेत्रको वास्तविक पीडालाई सिधै कोप–३१ को सभाहलसम्म ल्याउँदै सहभागीहरूले भोटेकोशी विपद्मा ज्यान, घरबार र जीविकोपार्जन गुमाएका सम्पूर्ण पीडितहरूको सम्झनामा ऐक्यबद्धता जनाए ।
‘भोटेकोशीको त्रासदी न पहिलो घटना हो, न त नेपाल र ग्लोबल साउथले भोग्नुपर्ने अन्तिम विपद् नै हो,’ अन्टाल्याबाट अभियान्ता प्रसुज मैनालीले भने । प्रदर्शनको अन्त्यमा भोटेकोशी विनाशमा सबैथोक गुमाएकाहरूको सम्झनामा पुतलावरिपरि मैनबत्ती बालेर एक मिनेट मौनधारणसमेत गरिएको थियो ।
उक्त प्रदर्शनले प्रभावित क्षेत्रको तत्कालको संकट र वार्ता कक्षभित्र देखिएको सुस्तताबीचको गहिरो खाडललाई उजागर गरेको छ । जलवायुजन्य विपद्को बारम्बारता र तीव्रता बढ्दै जाँदा अग्रपङ्क्तिका समुदाय पुनस्र्थापनाको साधनबिना नै निरन्तर क्षतिको चक्रमा फस्दै गएको बताउँदै सहभागीहरूले हिमाली र ग्लोबल साउथका समुदायले मृतकको सम्मानपूर्वक अन्त्येष्टि गर्नसमेत नपाइरहेको अवस्थामा कोप–३१ लाई ठूला प्रदूषक राष्ट्रहरूको उत्सव मनाउने मञ्च मात्र बन्न नदिन विश्व नेताहरूलाई चेतावनी दिए । धनी राष्ट्र र ठूला औद्योगिक प्रदूषकहरूलाई सीधा सन्देश दिँदै आन्दोलनकारीहरूले भोटेकोशीको विनाश मानव अस्तित्वभन्दा नाफालाई प्राथमिकता दिने कर्पोरेट पुँजीवाद, औपनिवेशिक सोच र जीवाश्म इन्धनमा आधारित दमनकारी आर्थिक प्रणालीको प्रत्यक्ष परिणाम भएको भन्दै विरोध गरेका थिए । उनीहरूले खोक्रा प्रतिबद्धता, ‘ग्रिनवासिङ’ (हरित भ्रम) र ऋणको भार थप्ने वित्तीय संयन्त्रको अन्त्य गर्दै जलवायु संकटमा सबैभन्दा कम जिम्मेवार राष्ट्रहरूप्रति विकसित राष्ट्रहरूले ऐतिहासिक जिम्मेवारी पूरा गर्नुपर्नेमा जोड दिए ।
What do you feel about this post?
Like
Love
Happy
Haha
Sad