तीन महिनामा आठ हजार ८५० विद्युतीय मोटरसाइकल र ६२४ विद्युतीय कार आयात
काठमाडौँ । नेपालमा विद्युतीय सवारी साधनको आयात उल्लेख्य रूपमा बढेको छ । वीरगन्ज भन्सार कार्यालयको तथ्याङ्कअनुसार चालु आर्थिक वर्ष २०८३/८४ को असोजसम्म अघिल्लो वर्षको सोही अवधिको तुलनामा विद्युतीय मोटरसाइकल र विद्युतीय कार दुवैको आयात बढेको हो ।
कार्यालयको विवरणअनुसार चालु आर्थिक वर्षको साउनदेखि असोजसम्म आठ हजार ८५० विद्युतीय मोटरसाइकल आयात भएका छन् । अघिल्लो आर्थिक वर्षको सोही अवधिमा दुई हजार १९४ वटा मात्रै आयात भएका थिए । यसरी विद्युतीय मोटरसाइकलको आयात सङ्ख्या चार गुणाभन्दा बढी पुगेको छ ।
त्यस्तै, विद्युतीय कार आयात पनि बढेको छ । चालु आर्थिक वर्षको पहिलो तीन महिनामा ६२४ वटा विद्युतीय कार आयात भएका छन् भने अघिल्लो वर्षको सोही अवधिमा २२९ वटा आयात भएका थिए । यसले विद्युतीय कारको आयात करिब २.७ गुणा भएको देखाउँछ ।
तीनपाङ्ग्रे विद्युतीय सवारीको आयात पनि बढेको छ । चालु आर्थिक वर्षको असोजसम्म दुई हजार ५१४ वटा विद्युतीय तीनपाङ्ग्रे सवारी आयात भएका छन् । अघिल्लो वर्षको सोही अवधिमा यस्तो आयात एक हजार ७८७ वटा थियो । त्यस्तै, गत वर्ष विद्युतीय बस आयात नभएकामा यस वर्ष एउटा आयात भएको भन्सारको तथ्याङ्कमा उल्लेख छ ।
विद्युतीय सवारीको आयात सङ्ख्यासँगै आयात मूल्य पनि बढेको छ । विद्युतीय मोटरसाइकल, कार, तीनपाङ्ग्रे सवारी र बसको आयात मूल्य जोड्दा चालु आर्थिक वर्षको तीन महिनामा करिब ३७८ करोड ८४ लाख रुपियाँ पुगेको छ । अघिल्लो वर्षको सोही अवधिमा यी सवारीको कुल आयात मूल्य करिब ११७ करोड ७७ लाख रुपियाँ थियो । यस आधारमा आयात मूल्य तीन गुणाभन्दा बढी भएको देखिन्छ ।
What do you feel about this post?
Like
Love
Happy
Haha
Sad