काठमाडौं । सुदूरपश्चिम रोयल्सले नेपाल प्रिमियर लिग (एनपीएल) मा आफ्नो बलियो उपस्थिति कायम राख्दै लगातार तेस्रोपटक फाइनलमा स्थान बनाएको छ । बिहीबार भएको दोस्रो क्वालिफायरमा चितवन राइनोजलाई ३ विकेटले पराजित गर्दै सुदूरपश्चिमले उपाधि यात्रालाई निरन्तरता दिएको हो ।
कीर्तिपुरस्थित त्रिवि अन्तर्राष्ट्रिय क्रिकेट मैदानमा चितवनले प्रस्तुत गरेको १३४ रनको लक्ष्य सुदूरपश्चिमले १९.५ ओभरमा ७ विकेट गुमाएर पूरा गर्यो । जितसँगै सुदूरपश्चिमले फाइनलमा साविक विजेता लुम्बिनी लायन्ससँगको भेट पक्का गरेको छ ।
सुदूरपश्चिमको जितमा थारिन्दु रत्नाऐके नायक बने । दबाबपूर्ण अवस्थामा ब्याटिङ गरेका उनले ४२ बलमा ७ चौकासहित अविजित ५३ रन बनाए । उनको अर्धशतकीय इनिङ्सले सुदूरपश्चिमलाई कठिन अवस्थामा पनि लक्ष्यसम्म पुर्यायो । ओपनर विनोद भण्डारीले १३ बलमा एक चौका र दुई छक्कासहित २३ रन बनाए । कप्तान दीपेन्द्रसिंह ऐरीले १६ बलमा एक चौकासहित १५ रन जोड्दा इशान पाण्डे र आरिफ शेखले समान १० रनको योगदान दिए ।
चितवनका रञ्जित कुमारले दुई विकेट लिए । कमलसिंह ऐरी, रिजन ढकाल, उसामा मिर र सलाउद्दिन खानले एक–एक विकेट हात पारे ।
त्यसअघि टस जितेर पहिले ब्याटिङ गरेको चितवन राइनोजले निर्धारित २० ओभरमा ९ विकेट गुमाएर १३३ रन बनाएको थियो । चितवनका लागि डेभिड मलानले उत्कृष्ट ब्याटिङ गर्दै अविजित ७१ रन बनाए पनि टोलीलाई प्रतिस्पर्धात्मक योगफलसम्म पुर्याउन सकेनन् । उनले ५१ बलमा ९ चौका र दुई छक्का प्रहार गरे ।
सलाउद्दिन खानले १६ बलमा एक छक्कासहित १८ रन जोड्दा कमलसिंह ऐरीले आठ बलमा एक छक्कासहित १० रन बनाए । चितवनका अन्य ब्याटर भने क्रिजमा टिक्न सकेनन् । देव खनाल ६, कामिल मिसारा ४, कप्तान रवि बोपारा १, विवेक यादव ३ र कुशल मल्ल १ रनमा आउट भए ।
चितवनको ब्याटिङलाई रोक्ने क्रममा सुदूरपश्चिमका स्कट कुगेलेनले तीन विकेट लिए । थारिन्दु रत्नाऐकेले दुई विकेट हात पार्दा कप्तान दीपेन्द्रसिंह ऐरी, इशान पाण्डे र हेमन्त धामीले समान एक विकेट लिए ।
यो जितसँगै सुदूरपश्चिम एनपीएल इतिहासमा लगातार तीन संस्करण फाइनल पुग्ने पहिलो टोली बनेको छ । यसअघि पहिलो र दोस्रो संस्करणमा पनि फाइनल खेलेको सुदूरपश्चिम दुवैपटक उपाधि जित्न असफल भएको थियो ।
पहिलो संस्करणको फाइनलमा जनकपुर बोल्ट्ससँग पराजित भएको सुदूरपश्चिम दोस्रो संस्करणमा लुम्बिनी लायन्ससँग रोकिएको थियो । लगातार दुईपटक उपविजेतामा सीमित बनेको सुदूरपश्चिमसँग यसपटक भने इतिहास बदल्ने अवसर छ ।
अब सुदूरपश्चिमले उपाधिका लागि पुनः लुम्बिनी लायन्सकै सामना गर्नेछ । लगातार तेस्रोपटक फाइनल पुगेको सुदूरपश्चिम पहिलोपटक च्याम्पियन बन्ने लक्ष्यमा हुनेछ भने साविक विजेता लुम्बिनी लगातार दोस्रो उपाधि जित्ने योजनामा मैदान उत्रिनेछ । दुई टोलीबीचको उपाधि भिडन्त शनिबार साँझ ५ बजे त्रिवि अन्तर्राष्ट्रिय क्रिकेट मैदानमा हुनेछ ।
What do you feel about this post?
Like
Love
Happy
Haha
Sad